Monday, December 23

एक सातादेखि ८ डीआईजी कामविहीन

२४ मंसिर, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएको एक साता बित्दासम्म आठ डीआईजीको पदस्थापन हुन सकेको छैन ।

१७ मंसिरमा गृहमन्त्रीस्तरीय निर्णयबाट आठ प्रहरी अधिकृत डीआईजीमा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका थिए । सोही दिन प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गर्दै व्यवसायिक ढंगले काम गर्न निर्देशन समेत थिए ।

‘पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको छ । राज्य र संगठनले तपाईंहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यवसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरो रूपमा उत्रिनु हुनेछ भनि विश्वास लिएको छु’ आईजी कुँवरले भनेका थिए ।

तर पदोन्नती भएको एक साता बितिसक्दा समेत आठ डीआईजीहरू अहिले कामविहीन बनेका छन् । प्रहरी प्रधान कार्यालय गएर दैनिक हाजिर लगाएर फर्काउने बाहेक उनीहरूको काम हुन सकेको छैन ।

कामविहीन हुने डीआईजीहरूमा धु्रवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् ।

प्रहरी नियमावलीअनुसार एसएसपी र डीआईजीको बढुवा, सरुवा तथा पदस्थापनको जिम्मा गृहमन्त्रीलाई हुन्छ । तर गृहमन्त्री रमेश लेखकले एक साता बित्दासम्म बढुवा भएका आठ डीआईजीहरूको पदस्थापन गर्न सकेका छैनन् ।

सामान्यतयाः यसअघि बढुवा गरिएकै बेला पदस्थापन पनि सँगै हुने गरेको थियो । तर प्रदेश र केही महत्त्वपूर्ण ठाउँहरूको इन्चार्जमा जाने प्रहरी अधिकृतहरुको लबिइङका कारण डीआईजीहरूको अहिलेसम्म पदस्थापन हुन नसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *