Monday, December 23

‘कसैको मानवअधिकार हनन् भएको छैन’

सुर्खेत। गृहमन्त्री रमेश लेखकले कसैको मानवअधिकार हनन नभएको दाबी गरेका छन्। रास्वपा सभापति रवि लामिछानेको विषयमा लक्षित गर्दै उनले मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको बताए ।

मंगलवार प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘सरकार हरेक मान्छेको मानवअधिकार रक्षाका लागि गम्भीर छ। प्रत्येक व्यक्तिको मानवअधिकारको रक्षा हुन्छ। कसैको मानवअधिकारको हनन् भएको छैन।’

लाखौं लाख मान्छेको रकम सहकारीमा हिनामिना भएको बताउँदै लेखकले त्यसबारे अनुसन्धान भइरहेको बताए । ‘रवि जीमात्र हैन तमाम मान्छेलाई अनुसन्धान भइरहेको छ तर कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ । के यो सहि हो त ?,’ उनले भने, ‘अनुसन्धानलाई प्रभावित गर्ने, सडकमा आएर विधिको शासन उलंघन गर्नु गलत हो ।’

ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो नभएको उनको भनाइ छ। प्रहरीको कमजोरी भएको छ भने चितवनबाट आउँदा त्यो हेर्न सकिने उनले बताए।

संविधानको रक्षा र कार्यान्वयन गर्ने, दीगो शान्ति र समृद्धि ल्याउने प्रमुख विषयमा अहिलेको सरकारले काम गरिरहेकाले उनले बताए।

‘सरकारलाई स्थायित्व दिएर संविधानले गरेका व्यवस्थालाई सुदृढ गर्दै जाने हाम्रो लक्ष हो, सोही अनुसार हामीले काम गरिरहेका छौं,’ उनले भने,’संविधान विरोधी गतिविधि निस्तेज गर्ने कुरामा हामी सबै लाग्नुपर्छ।’

यो संविधानलाई असफल गर्ने छुट कसैलाई नभएको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । मन्त्री बदलिने कुरा हल्ला मात्र भएको उनको दाबी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *