Wednesday, December 25

दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

२५ मंसिर, काठमाडौं । दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सोही ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङ छन् ।

उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरूले फ्री भिसा फ्री टिकटमा राम्रो आम्दानी हुने भन्दै दुबई भनेर कुवेत पुर्‍याएर एक महिलालाई बेचबिखन गरेको आरोप छ । ती महिलालाई ४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याइएको र त्यसको भोलिपल्ट त्यहाँबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याइएको थियो ।

कुवेती नागरिकले घरेलु काममा लगाई यौन शोषण गर्ने र यातना समेत दिने गरेको पीडितले प्रहरी समक्ष बताएकी छिन् ।

कुवेती नागरिकको घरबाट भागेर उनी प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि उनी ४ मंसिर २०८० मा नेपाल फर्केर प्रहरीमा जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *