Monday, December 23

सीके राउतको पहलमा खुल्यो कृषि सामग्री कम्पनीको ताला

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको पहलमा कृषि सामग्री कम्पनी लिमिटेड सप्तरीको गोदाममा लागेको ताला खोलिएको छ । तालाबन्दीका कारण केही दिनदेखि मलखाद वितरण ठप्प थियो । अब सहज रूपमा वितरण हुने जनमत पार्टीले जनाएको छ ।

सप्तरीका पालिका प्रमुखहरूले विभिन्न माग राखी तालाबन्दी गरेका थिए । तालाबन्दी गरेका कारण किसान मलखादबाट वञ्चित थिए । बुधबार जनमत पार्टीका अध्यक्ष राउतसहित मुख्यमन्त्री सतिशकुमार सिंह मलखाद वितरण सहज गराउनका लागि धर्नासमेत बसेका थिए ।

धर्नापछि जनमत पार्टीले जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै मलखादको कालोबजारी रोक्ने तथा किसानलाई सुपथ मूल्यमा सहज तरिकाले मलखाद वितरण गराउन आग्रह गरेको थियो । सो आग्रहपछि सम्बन्धित पक्षसँग छलफल गरी गोदाममा लगाइएको ताला अध्यक्ष राउतको रोहबरमा खोलिएको जनमत पार्टीका नेता एवं प्रदेश सभा सदस्य महेश यादवले बताए ।

सप्तरी क्षेत्र नम्बर २ का सांसदसमेत रहेका अध्यक्ष राउत प्रदेश सांसद महेश यादव, मुख्यमन्त्री सतिश कुमार सिंहको अगुवाइमा जनमत पार्टीले गाउँ–गाउँमा ‘दलान दलीलः जनतासँग जनप्रतिनिधि कार्यक्रम’ सञ्चालन गरिरहेको छ । सो कार्यक्रममा अधिकांश जनताले मलखादको बारेमा कुरा उठाउँदा अध्यक्ष राउतले त्यसको पहलकदमी लिएर ताला खुलाइएको यादवले बताए ।

मलखादको कालोबजारी बढेको, साढे चार हजारदेखि पाँच हजार रुपैयाँमा मल खरिद गर्नुपरेको, पार्टीगत आधारमा मलखाद वितरण गर्ने गरी जनमत पार्टीसँग आबद्ध किसानहरूलाई मलखादबाट वञ्चित गरेको आरोप अध्यक्ष राउतको छ ।

सप्तरी जिल्लामा मलखादमा भइरहेको कालोबजारी अविलम्ब रोक्न, कालोबजारी गरिरहेका डिलरहरूमा छापा मारेर मल नियन्त्रणमा लिइ कारबाही गर्न र किसानलाई विभेद नगरी सहज तरिकाले सुपथ मूल्यमा मलखाद उपलब्ध गराउने व्यवस्थाका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई अध्यक्ष राउतले आग्रह गरेका थिए ।

किसानहरूको गहुँ छर्ने समयमा मलखाद नपाएर खेती गर्नबाट बञ्चित भए उनीहरूको गुजारा समेतमा पनि असर पर्ने भएकाले सो समस्या अविलम्ब समाधान गर्न अध्यक्ष राउतले आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *