२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेहरूमाथि दुई खाले नीति अवलम्बन गर्ने भएको छ ।
गत मंसिर २८ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलरमा यो विषय समावेश छ । जहाँ पार्टी प्रवेश गर्ने नेता/कार्यकर्ता वामपन्थी भए एकखाले नीति र गैरवामपन्थी भए अर्कैखाले नीति अवलम्बन गर्ने उल्लेख छ ।
‘… एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुनस्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैर वाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन निश्चित गरिएको छ,’ सर्कुलरमा उल्लेख छ ।
विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय नेताहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको नेताहरू बताउँछन् ।
‘वाम घटकहरूसँग पार्टी एकता र ध्रुवीकरणमा जोड दिने माओवादीको नीति छ,’ सर्कुलरमा अगाडि भनिएको छ, ‘मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र ध्रुवीकरणको आवश्यतालाई ध्यानमा राखि समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र ध्रुवीकरणमा जोड दिने ।’
पछिल्लो पटक माओवादीले विभिन्न वाम घटकसँग पार्टी एकताको पहल भइरहेको बताएको छ । गत २२ मंसिरमा अध्यक्ष प्रचण्डले नै एक सार्वजनिक कार्यक्रममा तीन वामपन्थी पार्टीसँग एकता पहल भइरहेको बताएका थिए ।
नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता पहल गरिरहेको छ । यद्यपि, एकीकृत समाजवादीको पछिल्लो बैठकले भने अहिले कुनै दलसँग एकताको पक्षमा नरहको निष्कर्ष निकालेको छ ।