३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातपातलाई समाज व्यवस्थित गर्ने क्रममा पलाएको ऐंजेरुको रुपमा चित्रण गरेका छन् । बुधबार काठमाडौंमा नेपाल उत्पीडित जातिय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सबैभन्दा पहिला मानिस हौँ’ भन्नेकुरा बुझ्न जरुरी रहेको बताउँदै उनले मानिस सबै बराबर हुने जिकिर गरे ।
जातपात नचाहिने कुरा भएको उल्लेख गर्दै एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा ठिक तरिका छान्न नसक्दा जातपातका रुपमा गलत तरिका प्रवेश गरेको बताए ।
‘यो एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा कसरी गर्ने भन्दा विकासको क्रममा ठिक तरिका छान्न नसक्दा गलत तरिका कहिले कहिले प्रवेश गरे । यस्तै यो गलत तरिका हो । सामाजिक व्यवस्थापनको यो सन्दर्भमा त्यो बिरुवालाई हुर्काउनुपर्ने बेलामा पलाएको ऐंजेरु हो,’ प्रधानमन्त्री ओलीले भने ।
जातीयता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा भएको बताउँदै उनले जातपात र छुवाछुतलाई फेदैमा लुछेर फालिदिनुपर्ने जिकिर गरे ।
‘जातीयता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा हो । यस्तो ऐंजेरु भएपछि काँडादार हुन्छ, त्यसले छिटो घोच्छ, घोचिरहेको छ समाजलाई । यो ऐंजेरु नै हो, यसलाई फेदैमा लुछेर फालिदिनुपर्छ,’ ओलीले भने ।