Sunday, December 22

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

४ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ ।

लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।

लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर १ मा सुदूरपश्चिम रोएल्ससँग पारजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर छ ।

लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी कर्णालीको ब्याटिङ राम्रो देखिएको थियो । त्यसमा विदेशी खेलाडीहरुको प्रदर्शन अझ प्रभावकारी रह्यो । त्यही अनुसार नेपाली ब्याटरले ब्याटिङ गरेमा कर्णालीको ब्याटिङ अझ राम्रो बन्नेछ ।

कर्णालीका विलियम बोसिस्टो, चाडविक वाल्टनले राम्रो ब्याटिङ गरेका छन् । यस्तै जिसन मक्सुदले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । भर्खरै अनुबन्ध भएर प्लेअफमा खेलेका जयकसिन कोल्सावालाले पहिलो खेलमै अर्धशतक बनाएर आफ्नो उपस्थिति प्रमाणित गरिसकेका छन् । बलिङमा युवा स्पीनर विपिन प्रसाद शर्मासहित कप्तान सोमपाल कामी र नन्दन यादव छन् । कर्णालीमा धेरै अलराउण्डर हुँदा बलिङमा विकल्प छ ।

तर ब्याटिङमा अपेक्षाअनुसार नेपाली खेलाडीले अझै प्रदर्शन देखाउन सकेका छैन । देव खनालले एक अर्धशतक बनाउनुबाहेक ब्याट चलेको छैन । गुल्शन झाले पनि अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन् । यस्तै पछिल्लो दुई खेलमा अवसर पाएका ओपनर रित गौतम दुवै खेलमा शुन्यमा आउट भए ।

उता नियमित कप्तान अनिल साह हातको चोटका कारण खेल्न नसक्नेपछि सुदूरपश्चिम विरुद्धको क्वालिफायर वान गुमाएका थिए । उनले कर्णाली विरुद्ध पनि खेल्ने छैनन् ।

अनिलको अनुपस्थितीमा आकाश त्रिपाठीले पहिलो रोजाईँमा खेलेका थिए । ब्याटिङमा जिम्मी नीशममा धेरै भर पर्दा जनकपुरका अन्य खेलाडीले राम्रो साथ दिन सकेका छैनन् । सुरुवाती खेलमा जनकपुरको टप अर्डरले उत्कृष्ट प्रदर्शन गरेपनि मिडल अर्डर चल्न सकेको छैन । त्यसैले फाइनल पुग्ने हो जनकपुरको टप अर्डरले राम्रो प्रदर्शन गर्नुपर्ने आवश्यकता छ । जनकपुरको बलिङले भने राम्रो प्रदर्शन गरिरहेको छ ।

ललित राजवंशी, किशोर महतोले उत्कृष्ट बलिङ गरिरअका छन् । त्यसमा विदेशी खेलाडीहरु नीशम, हर्श थाकर र मोहम्मद मोहसिनसहित शेर मल्लले राम्रो साथ दिएका छन् ।

लिग चरणमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको थियो । जहाँ अनिल साहले अविजित ६२ रन बनाएका थिए । कर्णाली सामु त्यो हारको बदला लिने अवसर छ भने जनकपुर भने क्वालिफायर वानको हार पिडा बिर्साउँदै कर्णाली विरुद्धको लय कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

क्वालिफायर टु : जनकपुर बोल्ट्स भर्सेस कर्णाली याक्स

मिति : ४ पुष २०८१

समय : मध्यान्न १२ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

जनकपुर बोल्ट्स सम्भावित ११ : आसिफ शेख, आकाश त्रिपाठी, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिम्मी नीशम, अरनिको यादव, मोहम्मद मोहसिन, शेर मल्ल, किशोर महतो, ललित राजवंशी

कर्णाली याक्स सम्भावित ११ : रित गौतम, जयकिसन कोल्सावाला, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, देव खनाल, गुल्सन झा, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन याद, विपिन प्रसाद शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *