Sunday, December 22

‘सरकारले लामो समयसम्म प्राण धान्ला भन्ने देखिंदैन’

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग बुधबार साँझ दिएको यो अन्तर्वार्ता उनकै दलबाट सुरु भएको ‘राजनीतिक कोर्स परिवर्तन’ को बहसमा केन्द्रित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि सत्ता परिवर्तनको संकेत बुझिने भाषामा कोर्स परिवर्तन भन्न थालेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादीले सत्ताबाट बाहिरिएको ६ महिना नपुग्दै कस्तो खालको कोर्स बदल्ने कुरा गरेको हो ? बसन्त बस्नेतले सोधेका प्रश्न :

प्रधानमन्त्री केपी ओली चीन गएर आउनुभयो, भारत जाने चर्चा सुनिन्छ । नेपालमा प्रधानमन्त्रीले यी दुई देश जाने, अनि सरकार पनि त्यसैको सेरोफेरोमा परिवर्तन हुने हल्ला चलिरहन्छ नि ?

नेपालको प्रधानमन्त्री बनिसकेपछि पहिले भारत, अनि चीन भ्रमण गर्नैपर्छ, नगरे प्रधानमन्त्री असफल भयो, छिमेकीले सकारात्मक लिएनन् भन्ने जुन प्रकारको सोच नेपालमा छ, त्यो नै गलत छ । हाम्रो आवश्यकता अनुसार छिमेकी वा मित्रराष्ट्रको भ्रमण गर्ने हो । उहाँहरूले पनि निम्ता गर्ने, उहाँहरूलाई पनि निम्ता गर्ने हो । प्रधानमन्त्रीको सफलताको मापदण्ड केलाई मान्ने भन्ने नै अनुचित छ । त्यसैले चीन जाने बेलामा प्रधानमन्त्रीलाई हामीले शुभकामना दियौं । भारतमा पनि भ्रमण गर्ने रुचि छ भने उहाँ गएर सद्भाव बढाउने, केही गुणात्मक रूपमा सार्थक बनाउने काम गर्नुहोस् । यसमा बढाइँचढाइ आवश्यक छैन ।

तपाईंको पार्टी अध्यक्ष प्रचण्डले हिजोआज प्रधानमन्त्री ओलीबाट चिनियाँ कार्ड खेलियो, अब कोर्स परिवर्तन भन्दै हुनुहुन्छ, त्यसको साइनो छ ?

चाइना कार्ड एउटा मिडिया अन्तर्वार्ता क्रममा बोलिएको भनेर आयो । हामीले पनि यसमा कुराकानी गर्‍यौं । पार्टीमा अध्यक्षले दिनुभएकोे जानकारी अनुसार त्यसो भन्न खोजिएको होइन । छिमेकी मित्र राष्ट्रसँग राम्रो सम्बन्ध राख्नुपर्छ । मैले नेपालले स्वतन्त्र राष्ट्रका रूपमा विदेश नीति कसरी चलाउनुपर्छ, कसरी आफ्नै बुतामा उभिनुपर्छ भनेर नीतिगत कुरा गरेको हुँ, मैले त्यसो भन्न खोजेको होइन भन्नुभयो ।

अनि कोर्स परिवर्तनको कुरा चाहिं ?

मैले यो कुरा आफैंले सुनेको त छैन । तर सरकारको मात्रै नभई युगान्तकारी परिवर्तनपछि राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा प्रत्यक्ष अनुभूति गर्न पाएका छैनन् । त्यसैले कोर्स परिवर्तनबाट आम जनतालाई त्यसको लाभ दिऊँ भन्ने हो । अरू कुरा त मैले बुझेको छैन ।

माओवादी यसअघि एमाले र कांग्रेससँग पालैपालो सहकार्यमा थियो । अब कोर्स परिवर्तनको कुन नयाँ फर्मूला ल्याउँदैछ ?

२०७९ को चुनावका बेला नै पार्टीभित्र छलफल भएको थियो : प्रतिगमन मुर्दावाद मात्रै भनेर पुग्दैन । हामी परम्परागत लोकतन्त्रमा फस्ने खतरा छ । यस्तो अवस्थाको वास्तविक कारण पहिचान गरौं । जनताले ऐतिहासिक परिवर्तनबाट खोजेको आर्थिक, सामाजिक उपलब्धि नपाउँदा अराजकता र आक्रोशमा पुग्ने खतरा पनि छ । व्यवस्था जोगाउने पनि जनताले नै हो । उनीहरूमा नै निराशा बढ्यो भने अराजकतावादीले फाइदा उठाउँछन् । आर्थिक विकास तीव्र पार्नेबित्तिकै जनतामा आशा जाग्छ । अहिले सन्तोषजनक काम भएको छैन, त्यसलाई सन्तोषजनक बनाउँ ।

दोषी ठहरिएर दुई वर्ष कैद ठहरेको व्यक्तिलाई प्रधानमन्त्रीले संसद्मा बोलेर सफाइ दिनुभयो । प्रवृत्ति सुशासन अभियानलाई निरन्तरता दिने होइन, रोक्ने देखियो ।
नेपाल जस्तो देशमा समृद्धि प्रक्रिया तीव्र पार्न भ्रष्टाचार प्रभावकारी रूपमा नियन्त्रण गर्ने, राज्य लुट्ने वर्गलाई कारबाही गर्ने हो । त्यसैले सुशासन पहिलो शर्त भयो, नेपालको विकासमा ।

उत्पादक शक्तिको विकास, स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने काम दलाल पूँजीवादबाट हुँदैन । अरू देशमा जस्तो भ्रष्टाचार विरुद्ध बोले जस्तो सामान्य सुशासनको कुरा होइन, नयाँ दलाल नोकरशाही पूँजीवादमाथिको आक्रमण तेज गर्नेबित्तिकै सुशासनको अभियान अघि बढ्छ ।
उच्च तहका नेता, कर्मचारी, ठूला दलाल र धनाढ्यले सजिलो उपायबाट पैसा कमाउने, राज्य लुट्ने गरे । लगानी उत्पादन बढाउन, रोजगारी वृद्धि हुनेमा गरेकै छैनन् । त्यसैले नेपालको विकास गर्न राष्ट्रिय पूँजीको विकास गर्ने, अनि दलाल नोकरशाही पूँजीवादमाथि आक्रमण गर्ने यो अभियानलाई कोर्स परिवर्तन भनेको हो ।

तपाईं प्रचण्ड सरकारको गृहमन्त्री छँदा सहकारी ठगीमा तथ्य–प्रमाण जुटाएर कारबाही गरौं भन्नुभयो, तर तपाईंको मन्त्रालय नै बदलियो । अहिले संसदीय समितिको प्रतिवेदनले पनि त्यही निष्कर्ष निकाल्दा किन तपाईंको पार्टी अध्यक्षले बेग्लै टिप्पणी गर्न थाल्नुभएको हो ?

यसमा बेग्लै टिप्पणी भन्दा पनि हाम्रो पार्टी र मेरो स्पष्ट दृष्टिकोण छ । कुनै पनि व्यक्तिको पदीय हैसियत देखाएर छानबिन प्रभावित पार्ने गर्नुहुँदैन । सम्बन्धित जसको पनि छानबिन हुनुपर्छ । कुन निष्कर्ष निकाल्छ, प्रतिवेदनको त्यो सत्य समाएर कारबाही वा सफाइको स्थिति हुनुपर्छ । तर अनुसन्धानै गर्न मिल्दैन, वा गरे पनि पहिल्यै निष्कर्ष निकाल्ने गर्नुहुँदैन ।

राजनीतिक भेदभाव पो अलिक भयो कि ? किनभने कांग्रेस र एमालेका ठूला मान्छे, जो ठगीमा संलग्न छन्, सरकार उनीहरूलाई कारबाही गर्नतिर गएन । रविलाई नगर भनेको होइन, अरूलाई भेदभाव किन गर्‍यौं भनेको हो । स्वच्छ तरिकाले अनुसन्धान गरे हुन्छ । राति लैजाने किन ? भोलिपल्ट लगे भइहाल्थ्यो । जोसुकैलाई अनुसन्धान गर, तर स्वच्छता राख ।

तपाईंहरूले थालेका कारबाही त अहिले पनि निरन्तर नै छन् होइन ?

सबै छैनन् । मिडियाले खबरदारी गरेपछि केही कारबाही, लोकलाजका लागि भएका छन् । भ्रष्टाचारी खोज्दा आफ्ना समेत व्यक्ति पर्लान् भनेर सतर्क भएको पनि देखिन्छ । मूलभूत रूपमा हाम्रो सुशासन अभियानलाई यो सरकारले निरन्तरता दिएन ।

बालकृष्ण खाँण, टोपबहादुर रायमाझी जस्ता ठूला नेता नै पर्दा त कांग्रेस एमालेको विरोध आएको थिएन, तर बेचन झा वा अर्को व्यक्ति देखाएर किन सत्तापलटकै आरोप लगाउनुभयो ?

बेचन झा सानो कि ठूलो भन्नुभन्दा घटनाका शृंखला र उनको कनेक्सन हेर्नुपर्छ । बेचन झालाई कारबाही चलाउने निर्णय म गृहमन्त्री हुँदा उनी कहाँ छन् भनेर लोकेट गर्‍यौं । ल्याउन प्रयास गर्‍यौं, तर ल्याउने सक्ने अवस्था बनेन ।

किन बनेन ?

किनभने ल्याउन दिइएन भनौं न । परस्पर समझदारी छ, आफूले पक्राउ पर्नुपर्ने भनेर मुद्दा लगाएका अभियुक्तबारे दुई देशले सुपुर्दगी सन्धि भए पनि आपसी समझदारीका आधारमा काम गर्ने गरिएको छ । तर त्यो भएन । अर्को भूमिमा भएका व्यक्ति सरकारले ल्याउन सकेन । तर सहयोग प्राप्त भएन ।

भारतीय पक्षबाट ?

यसरी भनौं– नेपाल भूमिमा उनी थिएनन् । उनी अर्को देशमा थिए, तर त्यहाँबाट नेपाल ल्याउन सहयोग प्राप्त भएन । त्यसैले यो मुद्दामा बेचन सानो कि ठूलो भन्ने भएन । त्यस्तै अर्को सरोकार धितोपत्र बोर्डको पनि थियो । त्यहाँ पनि हामीले सफा नियत देखेनौं । अहिले मीनबहादुर गुरुङजीको कुरा चलेको छ । उहाँ व्यक्तिगत रूपमा सज्जन जस्तो देखिनुहुन्छ । तर सरकारले मित्रता र मायाप्रेमका आधारमा काम गर्न सक्दैन । उहाँलाई हामीले ललितानिवास प्रकरणको मूल योजनाकारका रूपमा सीआईबीले देखाएको व्यक्ति भनेर चिनेका छौं । विशेष अदालतले दुई वर्ष कैद र बिगो तोक्यो । त्यसपछि उहाँहरू सर्वोच्च अदालत जानुभयो, विचाराधीन छ । हामीले चलाएको अर्को मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । सम्माननीय प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले गरिखाने मान्छेलाई गर्न दिएन भन्नुभयो । प्रधानमन्त्रीले यसो भन्न मिल्दैन । दान भनेर एक अर्ब पर्ने जग्गा लिनुभयो । कोशीको प्रदेश सरकार मन्त्रीको विषयः रोजगारी नपाएका युवालाई लगिदिन्छु भनेर पैसा टिकट दुवै लिने काम गर्नुभयो । जापान सरकारले सन्देहास्पद भनिसकेपछि पनि क्लिनचिट दिइयो ।

तर अदालत नै संलग्न भएर त्यसमा आदेश गरिदियो होइन ?

कुरा अदालतको होइन, मीनबहादुरको हो ।

अदालतले दान लिए फरक पर्दैैन भन्ने आशयमा बोल्यो त ?

यो अदालतले भन्नुपर्ने विषय होइन । राजनीतिक नैतिकतासँग जोडियो । संसद्मा ठूलो छलफलको विषय हो, यो । सामान्यतया संसद्मा समेत अदालतको विषयमा बोल्न पाइन्नँ । तर यहाँ दोषी ठहरिएर दुई वर्ष कैद ठहरेको व्यक्तिलाई प्रधानमन्त्रीले संसद्मा बोलेर सफाइ दिनुभयो । प्रवृत्ति सुशासन अभियानलाई निरन्तरता दिने होइन, रोक्ने देखियो ।

प्रचण्डले किन म्याजिक नम्बर भन्नु भएको हो उहाँसँगै सोध्नुपर्छ । तर हामी चाहिं सरकार कसरी ढाल्ने, कसरी सरकारमा जाने भन्नेमा छैनौं । हाम्रो प्राथमिकता अर्कै छ ।
प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने, अरूलाई पनि गर्न नदिने भन्नुभएको छ, कसैलाई लिनु वा दिनु नपर्ने भन्नुभएको छ ?

उहाँले भनेर हुने भए त ग्यासका पाइप, पानीजहाज, रेलको टिकट भन्नुभयो । शब्दमा होइन, आचरणमा देखिनुपर्‍यो नि ! हामीले व्यवहार हेरेर विश्लेषण गरेका छौं ।

तपाईंलाई विगतमा वाम एकताको एक सूत्रधार भनेर चिनिन्थ्यो ! अब तपाईं नि एकताको आश मार्दै हो ?

नेपालमा वामपन्थी जनमतको बाहुल्य छ । नेपालका पछिल्ला परिवर्तनमा वामपन्थी जनमत नै निर्णायक थिए । यो संविधान कार्यान्वयन गरेर समाजवाद उन्मुख सामाजिक, आर्थिक रूपान्तरण गर्ने काममा हिजो पनि लाग्यौं, आज र भोलि पनि लाग्छौं । वाम एकताको ढोका खुला छ, तर तत्काल व्यावहारिक रूपमा मैले सम्भव देखेको छैन । कतिपय वाम शक्तिसँग चाहिं कुरा हुन्छ फेरि ।

वाम मतलब विगतमा भएको एमाले माओवादी एकता वा सहकार्य अब के हुन्छ ?

भन्नाले वाम नाम राखेर काम गरेकालाई पनि बुझौं न । पहिले पनि सोचेका हौं । एमालेसँगै चाहिं व्यावहारिक प्रश्न अझै छ ।

एमालेसँग सत्ता सहकार्य चाहिं कत्तिको सम्भव छ ?

अहिले त्यो पनि मैले देखेको छैन । त्यतातर्फ माओवादीले सोचेको छैन ।

कांग्रेस र एमालेको सहकार्य कति लामो जाला ?

हेर्दै जाऊँ । हामी सरकारबारे त्यति सोचिराखेका छैनौं । पार्टी निर्माणको काम केन्द्रमा राखेर घनीभूत गर्ने भन्ने छ । जनतामा जाने, देशको परिस्थितिबारे सूचित गर्ने, जागृत गर्ने, मुद्दा उठाएर सशक्त अघि बढ्ने हाम्रो प्राथमिकता हो । सहकार्य कतिसम्म जाला भन्ने त उहाँहरूको व्यवहार हेरौं न !

तर प्रधानमन्त्री ओली चीनबाट फर्केपछि नेतृत्वको बारेमा अनेक कोणबाट छलफल सुरु भइरहेको बारे तपाईं बेखबर त हुनुहुन्न नि ?

मैले अब… त्यस्तो नजिकबाट हेरेको छैन । हामी त सरकारका बारेमा नसोचौं है भनेर त्यति धेरै हेरेका छैनौं । उहाँहरूको अवस्थाबारे भन्ने र गर्ने अवस्थामा हामी छैनौं ।

तर तपाईंको पार्टी अध्यक्ष प्रचण्डले बीचमा म्याजिक नम्बर भन्न बिर्सनुभएको थियो, फेरि भन्न थाल्नुभएको छ होइन ?

त्यो त अध्यक्षसँगै सोध्नुपर्छ, कुन सन्दर्भमा भन्नुभएको हो भनेर । तर हामी चाहिं सरकार कसरी ढाल्ने, कसरी सरकारमा जाने भन्नेमा छैनौं । हाम्रो प्राथमिकता अर्कै छ ।

तर पार्टी अध्यक्षको सोच र अभिव्यक्तिको शृंखला यसैको वरिपरि छ त आजकाल ?

यो सरकारले देश चलाउन सकेन, देशले सरकार धान्न सकेन, हाम्रो पार्टीले सरकारमा गएर सुशासन, समृद्धि, सामाजिक न्यायबारे जो महसुस गरेको छ, यो गति मन्द भयो भन्ने छ । भोलि आवश्यकता भयो भने त्यस्तो प्राथमिकता कार्यान्वयन कसरी गर्न सकिएला भनेर सोच्न सकिन्छ । अहिले सोचिएको छैन ।

ओली र देउवा चुनावसम्म सँगै जाने सम्भावना देख्नुहुन्छ ?

सरकारको गति हेर्दा यसले लामो समयसम्म प्राण धान्ला भन्ने देखिंदैन । जनताले प्रश्न गरिरहेका छन् । हामी चुनावसम्म सँगै लैजाउन् भन्नेमै हो, हामी प्रमुख प्रतिपक्षी बन्ने भन्नेमै हो ।

तपाईंहरूले ओलीलाई तपाईं सच्चिनुस्, हामी सहकार्य गरौं भन्ने, वा कांग्रेसलाई भन्ने गर्नुभएको हो ?

त्यस्तो दिन आउँदैन भनेर म भन्न सक्दिनँ । तर अहिले यसमा सोचिएको छैन । एमालेसँग मिलेर विगतमा दुई तिहाइ बहुमत भएको, जनतामा आशा जागृत भएको अवस्था पनि थियो । फेरि सम्भावना भएछ भने, होस् नगरौं भन्दैनौं । वाम एकताबारे एमालेसँग अहिलेसम्म सम्भावना देखा परेको छैन ।

तपाईंहरूको अहिलेको मुख्य काम के हो ?

आफ्नै बलबुतामा उभिनका लागि पार्टी संगठनलाई बलियो बनाउने । जससँग पार्टी एकता र ध्रुवीकरणमा ल्याउन सकिन्छ, त्यहाँ पहल गर्ने । अहिले नेत्रविक्रम चन्द विप्लवजी, महेन्द्र यादवको नेतृत्वमा भएको पार्टीसँग पनि । र एकीकृत समाजवादीसँग पनि सहकार्यको सम्भावना हुन सक्छ । उहाँहरूसँग पार्टी एकताको प्रगति चाहिं छैन ।

समाजवादी मोर्चाबारे के गर्नुहुन्छ ?

समाजवादी मोर्चाले राम्रोसँग काम गर्न सकेको छैन भन्ने सही नै हो । कार्यक्रमका आधारमा नयाँ ढंगले यसलाई कसरी बलियो बनाउन सकिन्छ भनेर सोच्छौं । कार्यगत एकताका ठाउँहरू पनि खुला गर्छौं ।

उपराष्ट्रपति भइसकेका नन्दकिशोर पुनलाई पनि पार्टीभित्र भित्र्याउन लाग्नुभएको हो ?

हामीले त्यस्तो कुनै निर्णय गरिसकेका छैनौं । यो पार्टीको मात्रै विषय हो भन्ने लाग्दैन । यो हाम्रो राष्ट्रिय जीवनमा देखा परेको नयाँ प्रश्न हो । आम रूपमै छलफल चल्नुपर्छ ।

पार्टीमा छलफल भएको त छ ?

मतलब, उहाँले चाहना गर्नुभएको कारणले पार्टीमा विषयले प्रवेश पाएको छ । छलफल गरेर निर्णय गरौंला भन्ने भएको छ । तर छलफल भएको छैन ।

माओवादीमा नयाँ पुस्ता आउनुपर्ने होइन ? तपाईंहरू त पुरानै जोडजाडमा लाग्नुभएछ त !

नेतृत्वको विषय क्षमतासँग जोडिने सवाल हो । यसमा नयाँ–पुराना सबै कोणबाट हेर्नुपर्छ । मूल विषय नेता को भन्ने होइन, काम के गर्ने भन्ने हो । कमि–कमजोरीका बीच अहिले पनि नेपालका दलमध्ये माओवादी केन्द्र नै राम्रो हो । तर पार्टीलाई यथास्थितिमा राख्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *