Monday, December 23

सामुदायिक विद्यालयलाई महानगरको निर्देशन : विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलेऊ

४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ । कतिपय विद्यालयले विभिन्न शीर्षकमा शुल्क लिने गरेको पाइएपछि महानगरले कुनै पनि शीर्षकमा शुल्क नलिन विद्यालयहरूलाई भनेको छ ।

‘सामुदायिक विद्यालयमा सबै निःशुल्क गरेका छौं । विद्यालयमा लाग्ने खर्च महानगरले बेहोर्छ,’ प्रवक्ता नवीन मानन्धरले भने ।

अनुगमनका क्रममा विद्यालयहरूले किताब, पोसाक, खाजा, अतिरिक्त कक्षा लगायतका शीर्षकमा शुल्क लिने गरेको पाइएपछि महानगरले विद्यालयलाई नलिन भनेको हो ।

संविधानले निःशुल्क तथा अनिवार्य शिक्षा भनेको र २०७५ मा बनेको अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलाई महानगरले कार्यान्यन गर्न लागेको हो ।

‘ऐन कार्यान्वयन गर्न निःशुल्क गरेका हौं,’ सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले भने ।

आगामी सोमबारदेखि महानगरका विद्यालयमा त्रैमासिक परीक्षा सञ्चालन हुँदैछ । यो परीक्षाको सम्पूर्ण खर्च महानगरले गर्ने भएको छ ।

‘सामुदायिक विद्यालयको कक्षा ४ देखि १० सम्मका द्वितीय त्रैमासिक परीक्षाको कार्यतालिका देहायबमोजिम भएको बेहोरा जानकारीका लागि अनुरोध छ । सोही कार्यतालिका बमोजिम परीक्षाको तयारी गर्नु/गराउनु हुन अनुरोध छ ,’ महानगरको सूचनामा भनिएको छ ।

महानगरपालिकाको शैक्षिक क्यालेन्डर बमोजिम त्रैमासिक तथा वार्षिक परीक्षाको प्रश्नपत्र विकास, छपाई तथा वितरण कार्यमा एकरूपता कायम गर्न महानगरले व्यवस्थापन गर्ने पत्रमा भनिएको छ ।

‘परीक्षा गुणस्तरीय बनाउन महानगरले एकरूपता कायम गर्न लागेको हो,’ झाले भने ।

विद्यालयका सटर बन्द गर्ने

काठमडौं महानगरले सबै खर्च बेहोर्ने भएपछि विद्यालयले भाडामा लगाएको सटर बन्द गर्ने अभियान चलाएको छ ।

झाका अनुसार ३२ वटा विद्यालयले ३१८ सटर सञ्चालन गरेका छन् । जसमध्ये २७७ वटा सटर महानगरले बन्द गरेको छ । दुई वटा भवन पनि विद्यालयले भाडामा लगाएको पाइएको छ ।

‘विद्यालयको आन्तरिक स्रोत सटर रहेछ । सबै खर्च महानगरले गर्ने भएपछि सटर बन्द गर्न लागाएका हौं,’ झाले भने, ‘विद्यालयलाई पैसा अपुग भयो भने महानगरले दिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *