५ पुस, काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको छ।
नगरपालिकाको २८ मंसिरमा बसेको कार्यपालिका वैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्न दिवस मनाउने निर्णय गरेको हो ।
दिवसको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।
२०७५ सालमा जिल्ला समन्वय समिति महासंघको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको संयोजनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गरेकी थिइन् ।
उक्त सम्मेलनमा ७७ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख तथा जलवायु परिवर्तन र वातावरण विज्ञहरुको सहभागिता थियो।
सोही बेला जलवायु परिवर्तनलाई संकेत गर्ने स्ट्याचुको अनावरण तथा ७७ जिल्लाको नाम अंकित राष्ट्रिय झण्डा फहराएर सम्मेलन उद्घाटन गरिएको थियो ।