Monday, December 23

रविसहितको मुद्दा न्यायाधीश राईको इजलासमा

८ पुस, पोखरा । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको मुद्दामा न्यायाधीश नीतिज राईको इजलासमा बहस हुने भएको छ ।

बयानका लागि रविसहित पाँचै जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।

आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । आजदेखि बयान सुरु हुँदैछ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।

‘आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको हो । १/२ दिन बयानमै जान्छ, त्यसपछि बल्ल थुनछेक बहस हुने हो,’ कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले भने ।

थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।

प्रहरीले रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरेको छ । संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा उनीहरूमाथि संगठित अपराधको अभियोग पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *