Wednesday, January 1

विषादीको प्रयोग गर्दा के–के कुरामा ध्यान दिने ?

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विषादीको प्रयोग गर्दा उचित ध्यान दिन सुझाव दिएको छ । नार्क अन्त्रगतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि–मौसम सल्लाह बुलेटिन मार्फत विषादीको प्रयोग गर्दा ध्यान सुझाएको हो ।

जसअनुसार कृषकले हरियो र नीलो लेबल भएको विषादी प्रयोग गर्नुपर्ने, विषादीको डब्बामा उत्पादन र एक्सपाइरी मिति हुनुपर्ने, सिफारिस गरिए अनुसारको मात्रा प्रयोग गर्नु पर्ने, सुरक्षित ठाउँमा विषादी राख्न लगायत विभिन्न सुझाव दिइएको छ ।

बुँदागत सुझाव

–विषादी छर्कने वेलामा मुखमा मास्क, हातमा पन्जा, खुट्टामा जुत्ता र शरीरको नाङ्गो भागमा कपडाले छोप्नुहोस् ।

–सकभर कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला विषादी नछर्नुहोस् ।

–कुनै पनि विषादी छर्दा जुन दिशाबाट हावा आएको छ त्यही दिशातिर फर्केर कहिल्यै छर्नुहुँदैन अर्थात् जुन दिशाबाट हावा वहेको छ सोही दिशातर्फ फर्केर विषादी छर्ने गर्नुहोस् ।

–कुनै पनि विषादी छर्दा विषादी छर्दै अघि बढ्नु हुँदैन अर्थात पछि सर्दै आउनु पर्दछ जसले गर्दा विषादी छरिसकेको ठाँउमा चलाउन नपरोस् ।

–कुनै पनि विषादी छरिरहँदा बिचैमा नोजल बन्द भयो भने मुखले फुकेर वा दाँतले खोल्ने गर्नुहुँदैन ।

–कुनै पनि विषादीको प्रयोग गरे पछि सकेसम्म पुरै शरीर नुहाउनु पर्दछ र हात खुट्टा नधोई कुनै खानेकुरा खान हुँदैन । विषादी प्रयोग गरिसकेपछि खाली बट्टा वा सिसी बटुलेर खाल्डोमा पुर्नुहोस् र प्रयोग गरेका उपकरणहरू धोएर राख्नुहोस् । विषादी छर्कँदा टाउको दुख्ने वा वाक वाक लाग्ने जस्तो हुन थाल्यो भने तुरुन्त काम छोडेर खुल्ला हावामा केहीबेर बस्नुहोस् । यदि विष लागेको शंका लागेमा नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा जँचाउनुहोस् ।

–विषादीको किसिम हेरेर विषादी छरेको खेत जग्गाबाट ३ देखि १५ दिनसम्म कुनै पनि खानयोग्य बालीहरू उपभोग गर्न हुँदैन । साथै गाईबस्तु, कुखुरा आदि लाई पनि खुवाउन हुँदैन ।

–विषादी प्रयोग गर्ने उपकरणहरू (स्प्रेयर) लाई प्रयोग गरिसकेपछि राम्रोसँग पखाली भण्डारमा राख्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *