Wednesday, January 1

समाजवादी विद्यार्थी युनियनको महाधिवेशन चैत ७–८ गते

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपालको महाधिवेशन तोकिएको छ । बालकुमारीस्थित जसपा नेपालको पार्टी कार्यालयमा बसेको युनियनको बैठकले अगामी चैत ७ र ८ गते भैरहवामा महाधिवेशन गर्ने निर्णय गरेको युनियनका अध्यक्ष रमेश यादवले बताए ।

यस्तै बैठकले समाजवादी विद्यार्थी युनियन नेपालको कार्यसमितिलाई महाधिवेशन आयोजक समिति बनाएको छ । महाधिवेशन सफल बनाउनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको अध्यक्ष यादवले बताए ।

गत मंसिर २९ गते सम्पन्न जसपा नेपालको कार्यकारिणी समितिको बैठकले आगामी वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा राष्ट्रिय समिति, भातृ संगठनहरुको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने भातृ संगठन स्वतः विघटन हुने समेत निर्णय जसपा नेपालले गरेको छ ।

सो निर्णयपछि भातृ संगठन, विभाग तथा प्रदेश, जिल्ला, पालिका तहका बैठकहरू धमाधम बसिरहेका छन् । पार्टी कार्यालयमा दिनदिनै विभाग तथा भातृ संगठनहरुको बैठक बसेर निर्णयहरू भइरहेका छन् ।

जसपा नेपालले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ । त्यसलाई सफल बनाउन विभाग तथा भातृ संगठनलाई निर्देशन पनि दिएको छ ।

बैठकले स्थानीय तहको उपनिर्वाचनमा मधेश प्रदेशसहित जसपा नेपालले देशभरिबाट प्राप्त गरेको जनताको मत परिणाम सन्तोषजनक रहेपनि यो पर्याप्त नरहेकाले संगठन निर्माण एवं विस्तार अभियानलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन विभाग तथा भातृ संगठनलाई अभियानमा जोडिन निर्देशन दिएको छ ।

जसपा नेपालले पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत्र महिनाभित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *