Sunday, January 5

मदन भण्डारी गोल्डकप भलिबल : एपीएफ र आयोजक विजयी

१९ पुस, बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीपमा शुक्रबार सशस्त्र प्रहरीको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जित हात पारेका छन् ।

बुटवलको रामनगर खेलमैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले रुकुमपश्चिम भलिबल प्रशिक्षण केन्द्रमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एकेडेमीले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ अंकमा जितेको थियो ।

तेस्रो सेट प्रतिस्पर्धाप्त्मक रहे पनि बाँकी दुई सेटमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले सहज जित निकालेको हो । उसले प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग ३–१ को पराजय व्यहारेको थियो । रुकुमपश्चिमको यो दोस्रो हार हो । यसअघि उसले मणिमुकुन्द भलिवल क्लब रुपन्देहीसँगको खेल ३–० को सोझो सेटमै गुमाएको थियो ।

एकेडेमीले छनोट चरणको अन्तिम प्रतिस्पर्धामा आइतबार मणिमुकुन्दको सामना गर्नेछ । रुकुमपश्चिमले भने सोमबार पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

एपीएफको संघर्षपूर्ण जित
शुक्रबारै भएको अर्को खेलमा एपीएफले गल्कोट भलिबल क्लबमाथि संघर्षपूर्ण जित निकाल्यो । बिहीबार स्थगित खेल आज खेलाइएको थियो । जसमा एपीएफले गल्कोटलाई ३–२ ले पराजित गर्‍यो ।

हिजो चौथो सेटमा पुगेर खेल स्थगित भएको थियो । शुक्रबार पहिलो सेट २५–१५ मा सहजै जितेको एपीएफले संघर्षपूर्ण खेलमा दोस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । एपीएफको स्पाइकर जोडी सुरेन्द्र केसी र सरोज बर्देवाले टिमलाई संघर्षपूर्ण जित दिलाउन ठूलो योगदान गरे ।

गल्कोटले मीन सुनार, जीवन सुनार, आलोक सुनार, इरानियन खेलाडी मोविन सिरीको उत्कृष्ट खेलको मद्दतले तेस्रो र चौथो सेट जितेको थियो । गल्कोटले तेस्रो सेट २५–२२ तथा चौथो सेट ३३–३१ अंकमा जितेको थियो ।

निर्णायक अन्तिम तथा पाँचौं सेटको लाइन्स जज र रेफ्रीको निर्णयलाई लिएर पटकपटक विवाद हुँदा खेल करिब आधा घण्टा रोकिएको थियो । तनावपूर्ण वातावरणमै पुनः सुरु भएको खेल एपीएफले २०–१८ ले जित्यो ।

२४ पुससम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले सात लाख, दोस्रोले तीन लाख ५० हजार, तेस्रोले एक लाख ७५ हजार र चौथो हुने टिमले एक लाख रुपैयाँ पाउनेछ ।

उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विधागत तर्फ १० हजारका दरले पुरस्कृत गरिने आयोजक एकेडेमीकी सचिव अमृता अनमोलले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *