Tuesday, January 7

रावल, पाण्डे र तिम्सेनालाई गरिएको कारबाही एमाले केन्द्रीय कमिटीबाट अनुमोदन

२१ पुस, काठमाडौं । नेकपा एमालेको पछिल्लो १० महिनामा पार्टी पोलिटब्यूरो र केन्द्रीय सचिवालयबाट भएका निर्णयहरू केन्द्रीय कमिटीबाट अनुमोदन गरेको छ ।

आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले निर्णयहरू अनुमोदनका लागि प्रस्ताव गरेका थिए । ती निर्णयहरू अनुमोदन भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘पछिल्लो दश महिनाको अवधिमा पोलिटब्युरो, केन्द्रीय सचिवालयले गरेका निर्णयहरू महासचिवले अनुमोदनको लागि प्रस्ताव गर्नुभयो । र ती निर्णयहरू अनुमोदन भइसकेको छ,’ गौतमले भने ।

उनका अनुसार केन्द्रीय कमिटीमा मनोनयन भएका, बिदा भएका, अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरूको अनुमोदन भएको छ ।

जसमा पछिल्लो पटक कारबाहीमा परेका तीन नेताहरूको निर्णय पनि अनुमोदन भएको छ ।

एमालेले पछिल्लो पटक पूर्वउपाध्यक्ष समेत रहेका नेता डा. भीम रावललाई निष्कासन गर्ने निर्णय गरेको थियो भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, आजको बैठकमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *