Tuesday, January 7

राजावादीसँग भीम रावल- दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन

२१ पुस, विराटनगर । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले इटहरीमा राजावादी पक्षसँग भेटघाट गरेका छन् । इटहरीका विष्णु रिजालको घरमा रावलले शनिबार राजावादी पक्षधरसँग भेटघाट गरेका हुन् । रिजाल पनि राजावादी भनेर चिनिन्छन् ।

राजावादी पक्षसँगको छलफलमा रावलले २०६२/६३ को दोस्रो जनआन्दोलनमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउने एजेन्डा नै नभएको दाबी गरेका छन् ।

२०४७ सालमा संवैधानिक राजतन्त्र उल्लेख रहेको बताउँदै उनले राजाकै अगाडि आफूले मन्त्रीको सपथ गरेको पनि सम्झिए । ‘२०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमाले पनि मानेको हो, त्यहीँ अन्तरगत त म पहिलो चोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर सपथ लिएको हो,’ उनले भने, ‘२०६२–६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो मत तपाईंहरुलाई जानकारी गराउँछु, धर्ननिरपेक्षता पनि थिएन, संघीयता पनि थिएन ।’

उनले आन्दोलनका क्रममा बाहिरबाट घुसपैठ भएर नेपालमा गणतन्त्र आएको जिकिर गरे । ‘हामीले चाहिँ संगठन गर्ने, बोल्ने अभिव्यक्ति दिने कुरा गर्नुपर्छ, जुन संवैधानिक राजतन्त्र हो त्यही बाटोमा जाऔं भनेर सुरु गरियो,’ उनले भने, ‘जब आन्दोलन नियन्त्रणभन्दा बाहिर गयो अनि घुसाउनेहरुले ठयाक्कै आएर छिरे ।’

रावल यत्तिमै रोकिएनन् र भने, ‘अनि त्यो त कस्तो थियो भने कोशी नदी उर्लिएर आइसकेपछि तल केहीले छेक्दैन नि ।’ जनआन्दोलनलाई उनले कोशी नदी उर्लिएर आएको जस्तै संज्ञा दिए ।

रावललाई स्वागत गर्न विमानस्थल पुगेका राजावादीहरू ।
अहिले देशमा भइरहेको विकृति रोक्नका लागि दुई वटा मात्रै उपाय रहेको उनले बताए । आफू राजनीति शास्त्रको विद्यार्थी भएको र व्यवहारिक कुरा गर्ने बताउँदै रावलले भने, ‘जनताले एकजुट भएर निर्वाचनको माध्ययमबाट पूर्णरुपमा पराजित गर्नुपर्याे । ठूलो मात्रामा अरु मान्छेलाई जिताउनु पर्याे र संविधानदेखि कहाँकहाँ परिवर्तन गर्नुपर्ने हो ।’

यो बाटोबाट मात्रै पविर्तन गर्ने सम्भावना नरहेको उनले जनता पनि परिचालित हुनुपर्ने बताए । हिजो झापामा ‘नेकपा एमाले जिन्दावाद, भोट केमा हलोमा’ भन्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने, ‘अब यस्तो स्थितिमा यस्ता खालका चरित्रका पात्रहरुको हातमा यो चिज (सत्ता) भएकाले यसलाई समाप्त गर्नका लागि निर्वाचन प्रणाली एउटा महत्वपूर्ण प्रणाली हो, तर अहिले जे स्थिति देख्या छ, जनताले अलिक संगठित भएर आवाज उठाएर नगर्दा खेरि निर्वाचन माध्ययमबाट मात्रै यो सबै हुन्छ कि हुँदैन मलाई अलिक शंका छ, जनताले अलिक परिचालित हुनुपर्ला ।’

शनिबार विराटनगर विमानस्थलमा राजावादी पक्षधरले रावललाई स्वागत गरेका थिए । उनी सुनसरीको भरौलामा आयोजित भेट्रान फुटबल प्रतियोगिता उद्घाटन गर्न आएका थिए । तर, नेकपा एमालेको दबाबमा प्रतियोगिता दुई दिन पछि सरेको थियो । कार्यक्रमका लागि पुगेका रावल भरौलामा समर्थक भेटघाट गरेर फर्किएका थिए । इटहरीमा उनले विभिन्न पक्षसँग छलफल पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *