Tuesday, January 7

पाँचतारे होटल ह्यात प्लेस बन्यो ‘ह्यात सेन्ट्रिक’

काठमाडौं । राजधानीको सोल्टीमोडस्थित पाँचतारे होटल ‘ह्यात प्लेस’ को ब्रान्ड परिवर्तन भएर ‘ह्यात सेन्ट्रिक’ भएको छ ।

सिटी होटलका कार्यकारी सञ्चालक अक्षय गोल्यानका अनुसार होटलको ब्रान्ड परिवर्तन गरी ह्यात सेन्ट्रिक बनाइएको हो ।

पुनर्निर्माणपछि ग्राहकलाई काठमाडौंको सांस्कृतिक झलकसहित आधुनिक सेवा दिन ह्यात सेन्ट्रिक ब्रान्ड आतुर रहेको गोल्यानले बताए ।

ह्यात सेन्ट्रिक खोज तथा अनुसन्धानलाई प्रेरित गर्ने गरी डिजाइन गरिएको र आगान्तुकलाई कुनै पनि अनुभवको कमी हुन नदिने उनले बताए ।

यसअघि सिटी होटल लिमिटेडले ह्यात प्लेस ब्रान्डमा यो पाँचतारे होटल सञ्चालन गर्दै आएको थियो ।

१० रोपनी क्षेत्रफल ओगटेको ह्यात सेन्ट्रिकमा १ सय ५३ कोठा सञ्चालनमा छ । सबै कोठा नेपाली सांस्कृतिक वातावरण झल्को दिने गरी बनाइएको छ ।

८ हजार ६०० वर्ग फिटभन्दा बढी इभेन्ट स्पेस रहेका कारण बैठक, विवाह र सिर्जनात्मक भेला जस्ता कार्यक्रम गर्न ह्यात सेन्ट्रिक उपयुक्त हुने हयात सेन्ट्रिकका महाप्रबन्धक बरुण तलवारले जानकारी दिए । जहाँ ६०० व्यक्ति अटाउने क्षमताको इभेन्ट स्पेस रहेको उनले बताए ।

अतिथिहरूलाई नेपालको पहिलो हयात सेन्ट्रिक ब्रान्डको होटलमा स्वागत गर्न पाउँदा आफूहरू उत्साहित रहेको तलवारले बताए ।

काठमाडौंको सारलाई होटलको प्रत्येक कोणबाट प्रस्तुत गरी अविस्मरणीय अनुभवहरू सिर्जना गर्ने उद्देश्य आफूहरूको रहेको उनले बताए ।

‘मिहिन डिजाइनदेखि नवीन पाककला प्रस्तुत गरी हामी प्रत्येक यात्रीको रोमाञ्चक यात्राको सुरुवात बिन्दु बन्न चाहन्छौं,’ उनले भने ।

होटलमा ब्रेकफास्ट बार, जिङ वल्र्ड, जिङ स्काई बार, ब्यांक्वेट हल, सम्मेलन कक्ष, फिटनेस सेन्टर लगायत सुविधा उपलब्ध छ ।

नेपालको आतिथ्यता क्षेत्रमा ह्यात सेन्ट्रिकले नयाँ अवधारणा सुरु गरेको कम्पनीले जनाएको छ ।
सिटी होटलको हाल सेयर मूल्य प्रतिकित्ता ८ सय ६० रुपैयाँ हाराहारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *