Wednesday, January 8

पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा आफूले सक्रिय हुन नभनेको प्रष्टीकरण दिएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।

सोमबार र मंगलबार नेताहरूले पूर्वराष्ट्रपति पुनलाई पार्टीमा सक्रिय गराउन खोजेको भनेर प्रचण्डको आलोचना गरेका थिए । पूर्वउपराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराउँदा पूर्वराष्ट्रपति पदकै अपमान हुने नेताहरूको भनाइ थियो ।

जवाफमा प्रचण्डले आफूले नबोलाएको र पूर्वराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रष्टीकरण दिएका हुन् ।

‘मैले पासाङजी लाई आउनु भनेको होइन । रिटायर्ड भएपछि म सक्रिय भुमिकामा आउनु चाहन्छु भनिरहनुभयो,’ प्रचण्डले भने । केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको लहरमा बसेका थिए । तर प्रचण्डले ‘ आमन्त्रितकै रुपमा बोलाएको’ दाबी गरे ।

पूर्वउपराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रचण्डले पटक–पटक दोहोर्‍याए । ‘म एउटा क्रान्तिको सिपाही हुँ, क्रान्ति गर्न किन नपाउने भन्नुभयो’ प्रचण्डले भने ।

कतैतिर पनि विरोधाभास नहुने गरी पूर्वउपराष्ट्रपति पुनको भूमिका तय गरिने पनि प्रचण्डले बताएका छन् । ‘उहाँको स्पिरिट अनुसार कार्यविभाजन गर्ने वेला भित्र पनि कन्फुज नहुने, बाहिर पनि कन्फ्युज नहुने उपयुत्त हुने विकल्प खोज्छौं ।’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *