Thursday, January 9

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीका वकिलहरूको बहस सकियो

२४ पुस, काठमाडौं । कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । बुधबार प्रतिवादीकातर्फका अधिवक्ताहरूको बहस सकिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूतर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएको हो ।

स्रेस्तेदार खनालका अनुसार आज बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ । त्यसपछि भोलि बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुनेछ । जवाफी बहस सकिएपछि आदेश आउने छ ।

सम्भवत बिहीबारसम्ममा आदेश आउनसक्ने स्रेस्तेदार खनालले बताए । ‘सम्भवत बिहीबार नभए शुक्रबारसम्म आदेश आउनसक्ने देखिन्छ,’ खनालले अनलाइनखबरसँग भने ।

आदेश आउने समय नजिकिएसँगै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सूर्यदर्शन सहकारी प्रकरणमा पुस ५ गते थप र ७ गते पुरक अभियोजन गर्दा गर्दै १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *