Thursday, January 9

विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने

काठमाडौँ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विभिन्न विषयका पाठ्यक्रम स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयको पाठ्यक्रम स्वीकृति गर्ने निर्णय गरेको हो
बैठकमा राखिएका विभिन्न प्रस्तावहरूमा गहन छलफल गरिएका छन् । जसले विद्यालय शिक्षाको पाठ्यक्रमलाई थप समसामयिक र विद्यार्थीमुखी बनाउने लक्ष्य राखेको छ ।

बैठकले माध्यमिक तह (कक्षा ९–१०) को इतिहास र वातावरण विज्ञानको पाठ्यक्रममा प्राप्त सुझावहरूलाई समेटेर १५ दिन भित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन गरेको छ ।

यी दुई विषयमा विज्ञहरूबाट प्राप्त सुझावहरूलाई समेटेर पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको हो । पाठ्यक्रममा विषयवस्तुलाई दैनिक जीवनसँग जोडी स्थानीय विषयसँग तादम्यता मिलाउने र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्ने जस्ता विषयहरूमा सुझाव आएका थिए । विज्ञहरूले युवाहरूलाई देशप्रति सकारात्मक भावना विकास गराउने र नेपालको सभ्यता जस्ता विषयको पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

वातावरण विज्ञानको पाठ्यक्रममा नेपालको विविधताको संरक्षण, हिमाल पग्लने समस्या, चुरेको समस्या र जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई विद्यार्थीले कसरी समाधान गर्न सक्छन् भन्ने विषयहरू पाठ्यक्रममा समावेश गर्न सुझाव दिएका थिए ।

बैठकबाट मातृभाषातर्फ आधारभूत तह (कक्षा ६–८) को चाम्लिङ भाषाको पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस गरिएको छ । बैठकको निर्णयानुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा रहेका ऐच्छिक विषयको समूह मिलान गरिएको छ । जस अनुसार माध्यमिक तह कक्षा (९–१०) मा हाल कार्यान्वयनमा रहेको ऐच्छिक पहिलो समूहमा रहेका २७ भाषाहरूमध्ये नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाउने र तीन समूहमध्ये कुनै दुई समूहबाट एक एक ओटा विषय छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।

यसैगरी विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार माध्यमिक तह कक्षा (११– १२) मा ऐच्छिक तेस्रो समूहमा रहेको १४ भाषाहरूमध्ये नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाउने र पाँच समूहमध्येबाट विद्यार्थीले कुनै तीन विषय लिन पाउने भएका छन् । बैठकले निर्णय गरेअनुसार माध्यमिक तह कक्षा (११–१२ को ऐच्छिक दोस्रो समूहमा रहेको जनसङ्ख्या अध्ययनलाई ऐच्छिक तेस्रो समूहमा र तेस्रो समूहमा रहेको Gerontology and Care Taking Education विषयलाई दोस्रो समूहमा राखिएको छ । अब विद्यार्थीले आफ्नो इच्छाअनुसार पाँचओटा समूहमध्ये कुनै तिन ऐच्छिक विषय रोज्न पाउने छन् ।

त्यस्तै विद्यार्थीको मूल्याङ्कनमा घरायसी तथा दैनिक जीवनमा गरेका कार्यहरू पनि समावेश हुने भएको छ । आजको बैठकले विद्यार्थीको घरायसी एवं दैनिक जीवनका कार्यलाई आधारभूत तह कक्षा (६–८) तथा माध्यमिक तह कक्षा (९–१०) को आन्तरिक मूल्याङ्कनमा समावेश गर्न आवश्यक छलफल र आवश्यक तयारी गरी परिषदमा पेस गर्न पाठ्यक्रम विकास केन्द्रलाई सैद्धान्तिक सहमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *