Thursday, January 9

शान्ति प्रक्रिया शीघ्र टुंग्याउन दबाब सृजना गरौँ : अध्यक्ष दाहाल

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् ।

बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उनले भने, ‘शान्ति प्रक्रियालाई जटिल मोडमा पुर्‍याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले टुङ्गिन लागेको शान्ति प्रक्रियालाई रोकिराखेको छ ।’

एमाले नेता अग्नि खरेलले शान्ति प्रक्रियालाई टुंगो लगाउन सरकार र आफ्नो पार्टी इमान्दार रहेको बताए । ‘शान्ति प्रक्रियालाई सफल बनाउन सरकार सकारात्मक छ, एमाले केन्द्रीय समिति बैठकमा पेस भएको दस्तावेजमा पनि शान्ति प्रक्रियालाई निष्कर्षमा लैजाने विषय उल्लेख छ,’ उनले भने, ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन सरकार र विपक्षी दल एक ठाउँमा उभिनुपर्छ ।’

पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले संक्रमणकालीन न्यायलाई टुंग्याउन कानुनी पक्षलाई मात्र नहेरी द्वन्द्वपीडित दुवैपक्षबीच सहमति एवं विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन विलम्ब भएमा मुलुकको छवि अन्तर्राष्ट्रिय रुपमा धुमिल हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *