२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले गैरकम्युनिस्ट पृष्ठभूमिबाट पार्टी प्रवेश गरेकाहरूलाई अनिवार्य रूपमा पार्टी प्रशिक्षणमा सहभागी गराउने प्रस्ताव गरेको छ ।
आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ३० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको छ ।
‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा माओवादी प्रवेश गर्ने गैरकम्युनिस्टले तीन महिना पार्टी स्कुलमा पढ्नुपर्ने भनिएको छ ।
‘कम्युनिस्ट आन्दोलन बाहिरबाट पार्टी प्रवेश गर्नेहरू तीन महिनाभित्र निर्धारित पार्टी स्कुलमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने’ प्रतिवेदनमा उल्लेख छ ।
पार्टीका ‘हरेक संगठित सदस्यहरूले पनि कम्तीमा वर्षमा एक पटक पार्टी स्कुलमा प्रशिक्षार्थीको रूपमा सहभागी हुनुपर्ने’ प्रस्ताव प्रचण्डले राजनीतिक प्रतिवेदनमा राखेका छन् ।
अध्यक्ष प्रचण्डले वैचारिक र नीतिगत रूपमा प्रष्ट हुनुपर्ने विषयहरूमा केन्द्रीय कार्याशाला गोष्ठीको आयोजना गर्ने, वैचारिक र नीतिगत काममा विभागहरूलाई सक्रिय बनाउने लगायतका योजना पनि अगाडि सारेका छन् ।
विद्यार्थी संगठनलाई वैचारिक बहसमा सरिक गराउने योजना पनि राजनीतिक प्रतिवेदनमा छ ।
‘युवा र विद्यार्थी संगठनहरूले आन्तरिक रूपमा र वाह्य पक्षलाई समेत सहभागी गराई वैचारिक चेतनास्तर उन्नत बनाउन मद्दत पुग्नेगरी लेख, वक्तृत्वकला, वादविवाद र हाजिरीजवाफ प्रतियोगिताहरूको आयोजना गर्ने’ प्रतिवेदनमा उल्लेख छ ।