Monday, January 13

सार्कबारे आरजुलाई जयशंकरको प्रश्न- तिम्रो देशमा आएर मान्छे मारेको भए बैठक हुन्थ्यो ?

२९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बैठक राख्न आफूले निरन्तर पहल गरिरहेको दाबी गरेकी छिन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्ने क्रममा परराष्ट्रमन्त्री राणालाई सांसदहरूले सार्कको बैठक राख्नेबारे भइरहेको पहलबारे प्रश्न गरेका थिए ।

सांसदहरूले नेपाल सार्कको अधयक्ष भएपनि किन बैठक हुन नसकेको भनेर प्रश्न गरेका थिए ।

जवाफमा परराष्ट्रमन्त्री राणाले बैठकबारे पहल भइरहेको जिकिर गरिन् । उनले आफ्नो भारत भ्रमणका बेलामा पनि सार्कको बैठकबारे विदेशमन्त्री एस जयशंकरसँग कुराकानी गरेको बैठकमा बताइन् ।

‘स्टेट हेडको बैठक बस्न सबै सहमत हुनुपर्छ । सेप्टेम्बरमा मैले भारत जाँदा सार्कको विषय उठाएको थिएँ,’ समितिको बैठकमा राणाले भनिन्, ‘जयशंकरजीले भन्नुभयो– तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो ?’

जयशंकरको उक्त जवाफपछि आफूले केही भन्न नसकेको उनको भनाइ थियो ।

‘त्यसपछि मैले केही भन्न सकेको छैन,’ उनले भनिन् ।

तथापि नेपालले सार्कलाई चलायन बनाउनका लागि आवश्यक काम गरिरहेको परराष्ट्रमन्त्री राणाले बताइन् ।

‘नेपालले नजरअन्दाज गरेको होइन । साइडलाइनमा पनि कुरा उठाउन खोजेका थियौं । छौं । तर भइरहेको छैन,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *