Wednesday, January 15

रेष्टुरेन्टहरुले गुणस्तरमा विशेष ध्यान दिनुपर्छ : उपप्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताएकी छन् । सोमवार काठमाडौँमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औँ राष्ट्रिय अधिवेशनमा बोल्दै उपप्रमुख डङ्गोलले यस्तो बताएकी हुन् ।

उनले व्यवसायीहरू पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताइन् । उनले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरू उठ्दै आएकाले त्यसमा विचार पुर्‍याउन व्यवसायीहरूलाई आग्रह गरिन् ।

उनले होटेल तथा फास्ट फुडहरू ठुलो स्पेस र पूर्वाधारहरूले मात्रै पाँच तारे हुन नसक्ने बताइन् । डङ्गोलले पाँचतारे हुनको लागि गुणस्तरीय हुन आवश्यक रहेको समेत बताइन् । उनले महानगर फास्ट फुडहरूमा विभिन्न खालका स्टार स्टिकरहरू राख्ने अभियानमा रहेको पनि बताइन् । उनले महानगरले राम्रो काम गर्ने व्यवसायीहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाइन् ।

उनले भनिन्, ‘पाँचतारे होटेल फास्ट फुड पूर्वाधारहरूले मात्रै हुँदैन । ठुलो स्पेस हुँदैमा पाँच तारे हुँदैन । गुणस्तरमा पाँच तारे भनेर चिनिन आवश्यक छ । महानगरले फास्ट फुडहरूमा विभिन्न खालका स्टार स्टिकरहरू राख्ने अभियानमा छ । राम्रो काम गर्ने व्यवसायीहरूलाई प्रोत्साहन मिल्छ । राम्रो गर्न सक्नुभएको छैन भने गुणस्तरमा पाँच तारे बन्छु र राम्रो बन्छु भनेर राम्रो गर्ने प्रयास गर्नुहोला । सुधारात्मक बाटोमा लैजानको लागि महानगरले काम गर्दैछ । महानगरले व्यवसायीहरूको व्यापार फस्टाओस् भनेर काम गरिरहेको छ ।’

उनले महानगरले व्यवसायीहरूको व्यापार व्यवसाय सहजीकरणको लागि काम गरिरहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *