२ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् ।
बुधबार कीर्तिपुरमा आयोजित २७औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्दार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्दारकर्मीहरू तयार भएको जानकारी दिँदै सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाहरूको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताए ।
उनले विपद्को समयमा अत्यावश्यक सामग्रीहरूको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालन सम्बन्धी कार्यविधि निर्माण गरी सातै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए ।
‘आगामी दिनमा भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियालाई थप प्रभावकारी बनाएर लगिनेछ,’ गृहमन्त्री लेखकले भने, ‘सरकारी निकाय, नीजि क्षेत्र र गैर सरकारी संस्था लगायत समुदाय स्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनर्निर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ ।’
सचेतना बढाउन परम्परागतसँगै नयाँ प्रविधिलाई अधिकतम प्रयोग गरिने उनको भनाइ थियो ।
जाजरकोट लगायतका भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ सहयोग गर्ने अस्थायी निर्माण सम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत भई लागु भइसककेको मन्त्री लेखकले जानकारी दिए ।