२९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको छ ।
आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो । त्यसपछि बसेको माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको हो ।
माओवादी सचेतक रुपा सोसी चौधरीले आफूहरुले उठाएको विषयमा सत्तारुढ दलहरू गम्भीर नभएको बताइन् ।
‘हाम्रो प्रष्ट निर्णय छ– माओवादी हिंसा शब्द संसदीय रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको बैठक चल्न सक्दैन । यो संसदीय दलकै निर्णय हो । यसबाट तलमाथि हुँदैन । सभामुखको निर्णय नसच्चिएसम्म प्रतिनिधि सभाको अवरोध खुल्दैन’, उनले अनलाइनखबरसँग भनिन् ।
@अनलाइनखबर