Wednesday, December 25

एनपीएलका कुन मालिकले के भने ?

१६ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मालिक, फ्रेन्चाइज टोलीको पूरा नाम र लोगो सार्वजनिक भएको छ । मंगलबार नेपाल क्रिकेट संघ(क्यान) ले एक कार्यक्रमकाबीच उक्त घोषणा गरेको हो ।

एनपीएल मंसिर १५ देखि पुष ६ सम्म काठमाडौंमा सिंगल राउण्ड रोविनको आधारमा हुँदैछ । अक्सन असोज २० मा हुँदैछ । मालिक सार्वजनिक कार्यक्रममा सबैको भनाइ यस प्रकार छ

काठमाण्डु गुर्खाज
स्वामित्व : कान्तिपुर मिडिया ग्रुप
टिम अक्सनमा खर्चेको रकम : ३ करोड ३३ लाख रुपैयाँ
मालिक : कैलाश सिरोहा, उपेन्द्र महतो र अरुण सरार्फ
मार्की खेलाडी : करण केसी

काठमाण्डु गुर्खाजका उपेन्द्र महतो भन्छन्:

जुन देशमा हिउँ नै हिउँ छ, त्यो देशमा क्रिकेट सुरु गर्दाखेरि सबैले तारिफ गरे र नेपाललाई हेर्ने नजरमा परिवर्तन गरे । त्यो सपना आज एनपीएलबाट पनि पूरा भइरहेको देखेको छु । नेपालीहरू खेलमा धेरै अगाडि छन् । विविध कारणवश एउटा प्लेटफर्म नभएर व्यावसायिक रूपमा अगाडि बढाउन नसकेको होला । लगानी अभाव भएर होला, हामी अगाडि बढ्न सकिरहेका थिएनौं ।

कर्णाली याक्स

स्वामित्व : हिमालयन बिल्डर्स इन्जिनियर्स

मूल्य : १ करोड ११ लाख रुपैयाँ

मालिक : झनक दत्त खनाल र गृहेन्द्र घिमिरे

मार्की खेलाडी : सोमपाल कामी

प्रशिक्षक तथा निर्देशक : ज्ञानेन्द्र मल्ल

कर्णाली याक्सका गृहेन्द्र घिमिरे भन्छन्:

एनपीएल आयोजना गरेर निजी क्षेत्रलाई खेलसँग जोड्ने एउटा पुल निर्माण गरेकामा क्यानलाई विशेष धन्यवाद दिन चाहान्छु । खेल भन्नेबित्तिक्कै दिपक विष्ट, पारस खड्का र पछिल्लो समय पलेश गोवर्धन बैनी । सबै खेल देशलाई चिनाउन खेलिने । एनपीएलले संसारलाई देखाई सकेको छ । क्रिकेटप्रतिको सम्भावना देखाइसकेका छौं ।

अस्ति एउटा स्पोन्सर लिन जाँदा भन्नु भएको थियो, यति सानो देशमा पनि यति ठूलो कार्यक्रम । तपाईंहरु गर्न सक्नुहुन्छ त ? अनि मैले भनें-विश्वकपमा सायद तपाईंहरुले डालसमा नेपालको खेल हेर्न जानु भएन होला !
हामी निर्माण क्षेत्रमा काम गरिरहेकाहरू क्रिकेटमा किन भनेर प्रश्न पनि उठ्न सक्छ । तर, जबसम्म निजी क्षेत्रले खेलकुद व्यावसायिक पार्न मदत गर्न सक्दैन, त्यो खेलले आफ्नो उद्देश्य पूरा गर्न सक्दैन । खेल जित्नका लागि खेलिन्छ, कसले जित्छ भन्दा पनि हामी देशलाई चिनाउने उद्देश्यका साथ प्रतिस्पर्धा गर्नेछौं ।

पोखरा एभेन्जर्स

स्वामित्व : नेपाल टी–२० प्रालि

मूल्य : ३ करोड ५७ लाख रुपैयाँ

टिम मालिक : सुबोध त्रिपाठी र मनोबल श्रेष्ठ

मार्की खेलाडी : कुशल भुर्तेल

पोखरा एभेन्जर्सका सुबोध त्रिपाठी भन्छन्:

एउटा फ्रेन्चाइज टोलीको हिसाबमा हामी क्यानसँग मिलेर यो लिगलाई विश्वमा पुर्‍याउन चाहन्छौं  । पोखरा एभेन्जर्सले ग्रास रुटदेखि नै क्रिकेटको विकास गर्न भूमिका खेल्ने छ ।

त्यसका साथै हामीमाथि अर्को ठूलो जिम्मेवारी छ, जलवायु परिवर्तनको चेतना जगाउनु । पोखरा एभेन्जर्सले यसको वकालत गर्नेछ । ग्लोबल वार्मिङको विषयलाई लिएर पोखराले आफ्नो जर्सी समुन्द्र सतहभन्दा झन्डै ४ हजार उचाइमा रहेको लोमान्थाङमा अनावरण गर्नेछ । आफ्नो झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने छ । हामीले यसलाई जिम्मेवारीको रूपमा लिएका छौं ।

लुम्बिनी लायन्स

स्वामित्व : फोर्चुना हेल्थ केयर

मूल्य : १ करोड ८६ लाख रुपैयाँ

टिम मालिक : ईश्वर जिसी

मार्की खेलाडी : रोहित पौडेल

लुम्बिनी लायन्सका ईश्वर जिसी भन्छन्:

क्रिकेट त देशलाई माया गर्ने एउटा आधार भयो । हामी पनि लुम्बिनी लायन्स भएर क्रिकेटको महासंग्राममा जोडिन पाउँदा एकदमै खुसी छौं । लुम्बिनी लायन्स भनेर जसरी हामीले नामकरण गरेका छौं, लुम्बिनीलाई हामी क्रिकेटको माध्यमबाट पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउने कोसिस गर्नेछौं ।

लुम्बिनी गौतम बुद्धको घरमात्र नभएर क्रिकेटको पनि एउटा घर हुनेछ । क्रिकेटसँगै पर्यटन, रोजगारको पनि प्रयास गर्ने छौं । क्रिकेट एउटा देशले गर्न खोजेको अथवा क्यानको जुजारु टिमले गर्न खोजेको काममा इट्टा थप्ने काम हो ।

जनकपुर बोल्ट्स

स्वामित्व : ड्रिम स्पोर्ट्स

मूल्य : २ करोड ५ लाख रुपैयाँ

टिम मालिक : अमित श्रेष्ठ

मार्की खेलाडी : आसिफ शेख

जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडा भन्छन्:

जनकपुर बोल्ट्स व्यवसायका सिलसिलामा देशबाहिर हुनुहुनुन्छ । तर, उहाँले यसरी सन्देश पठाउनुभएको छ- नेपाल क्रिकेट संघसँग मिलेर हामी नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौं ।

ड्रिम स्पोर्ट्सले लुम्बिनी अल स्टारको लिगेसीलाई पनि निरन्तरता दिनेछ । पछिल्लो पटक क्यानले आयोजना गरेको नेपाल ट्वान्टी–२० लिगमा हामीले एउटा लिगेसी बनाएका थियौं । अहिले हामी जनकपुर बोल्ट्सबाट नयाँ यात्रा प्रारम्भ गर्दैछौं ।

विराटनगर किंग्स

स्वामित्व – एमएडी ड्रिम स्पोर्ट्स

मूल्य – १ करोड ५१ लाख रुपैयाँ

टिम मालिक – पारस लुनिया

मार्की खेलाडी – सन्दीप लामिछाने

विराटनगरका पारस लुनिया भन्छन्:

मैले नेपालको टोलीबाट ६ वर्ष खेलें । अहिले क्रिकेट खेल्न छाडेको २० वर्ष भयो । हामी खेल्दा निकै संघर्ष गर्यौ । त्यति बेला हामीले दिनको २५ रुपैयाँ पाउँथ्यौं । विश्वमा इमान्दार हुँदा हाम्रो नाम छ । हामी अरुको लागि ज्यान दिन्छौं । एनपीएलमा आउँदा देश प्रतिको भावना देखिन्छ । नेपाली क्रिकेट विकासको लागि हो ।

हामी सरकारको सहयोग विना नै यहाँ आई पुगेका छौं । हामीपछि पारस, विनोदहरुको समय आयो । पारसले क्यानमा काम गरेको देख्दा खुसी लाग्छ ।
हामी हाम्रो क्षेत्रलाई अघि बढाउँछौं ।

हामी खेल्दा पूर्वाञ्चल क्षेत्रबाट ६० प्रतिशत खेलाडी राष्ट्रिय टोलीमा हुन्थ्यो । तर, आज पूर्वाञ्चलको क्रिकेट नाम छैन , त्यही कारण पनि हामी यो क्षेत्रमा आएका छौं । विराटनगरको क्रिकेटलाई कसरी ब्युँत्याउने भनेर हामी आएका छौं । कसरी युवा पुस्ता, कलेज, मैदान विकास गर्ने ।

एउटा किट ब्याग ५ लाखको हुन्छ । सानो मूल्य हो । हामी सबै मिलेर क्रिकेट कसरी अघि बढ्छ ।

चितवन राइनोज

स्वामित्व : चितवन मेडिकल कलेज

मूल्य : १ करोड ७६ लाख रुपैयाँ

टिम मालिक : हरिशचन्द्र न्यौपाने, आयुश न्यौपाने

मार्की खेलाडी : कुशल मल्ल

चितवन राइनोजका आयुश न्यौपाने भन्छन्:

हामी स्वास्थ क्षेत्रबाट आएका हौं, स्वास्थ र खेलकुद एकअर्काका पूरक हुन् । हामी आफ्नो व्यवसाय अगाडि बढाउनभन्दा पनि खेलाडीको सेवा–सुविधा क्यानले अगाडि बढाएको छ । त्यसैले एनपीएलमा आवद्ध हुन पाउँदा निकै खुसी छौं । क्यानलाई म धन्यावाद भन्न चाहन्छु । नेपाली क्रिकेट विकास गर्न चाहन्छौं ।

सुदूरपश्चिम रोयल्स

स्वामित्व : इम्पायर स्पोर्ट्स

मूल्य : १ करोड ६८ लाख

टिम मालिक : स्वतन्त्रप्रताप शाह

मार्की खेलाडी : दीपेन्द्रसिंह ऐरी

सुदूरपश्चिम रोयल्सका स्वतन्त्रप्रताप शाह भन्छन् :

सामान्य तया हाम्रो देशमा खेलकुद टाइमपास गर्न खेलिन्छ । खेलेर खेलेर आफ्नो करिअर बनाउछु भन्दा साँच्चिकै गाह्रो छ । एनपीएल एउटा सोच हो । खेलकुदमै लागेर भविष्य बनाउँछु, जीवन स्थापित गर्छु र एउटा पेसा बनाउँछु भन्ने सोच राख्नेहरूका लागि एनपीएल राम्रो प्लेटफर्म हो ।

यसमा हामीले सानो इँटा थप्न पाएको हुँदा एकदमै खुसी छौं । क्यानले एनपीएलको कन्सेप्ट वर्षौंवर्षसम्म अगाडि लिएर जानेछ भन्ने हाम्रो विश्वास छ । यस मार्फत धेरै राम्रा खेलाडी जन्मिउ, देशका लागि खेलून् र गर्व गर्ने बनाऊन् । आउने दिनमा पनि यहाँको साथ र सहयोग हुनेछ ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *