नेपालको वायुको गुणस्तरमा सुधार हुँदै
रासस
-भीष्मराज ओझा
काठमाडौँ । विगतका वर्षमा हिउँदे याममा काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो । विसं २०७७ पुस २० गते काठमाडौँलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो ।
तर पछिल्लो केही वर्षयता भने वायुको गुणस्तरमा तुलनात्मक सुधार देखिन थालेको छ । वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पुर्याउने वस्तुहरू तोकिएको सीमाभन्दा बढी मात्रामा मिसिनु नै वायु प्रदूषण हो । वायु प्रदूषण मानवीय र प्राकृतिक दुवै कारणले हुन सक्दछ ।
विभागका अनुसार सन् २०२१ पछि नेपालमा वायुको गुणस्तरमा सुधार देखिएको छ । वायु प्रदूषणका प्रमुख कारक कम हुँदै गएपछि वायुको गुणस्तरमा सुधार देखिएको विभागका सूचना अधिकारी दीपक ज्ञवालीको भनाइ छ । “सन् २०२१ मा वायु प्रदूषण ह्वात...