Monday, December 23

एक दशकमा पाँच गुणा बढ्यो अस्ट्रेलियामा पीआर नेपाली संख्या

९ वैशाख, काठमाडौं। अष्ट्रेलियामा सन् २०२२/२३ मा १२ हजार ४१ नेपालीले स्थायी बसोबास अनुमति पाएका छन्। गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार योसँगै सन् २०२२ को जून मसान्तसम्म अष्ट्रेलियामा स्थायी बसोबास अनुमति पाउने नेपालीको सङ्ख्या १ लाख ५१ हजार १४० पुगेको छ।

सन् २०१२ को जून मसान्तसम्म यो सङ्ख्या केवल ३० हजार ७३० जना थियो। १० वर्षमा अष्ट्रेलियामा पीआर पाउनेको सङ्ख्या झन्डै पाँच गुणाले बढेको छ।

पछिल्लो वर्ष सबैभन्दा बढी रिजनल एरियामा गएर ४ हजार ३८० जना नेपालीले पीआर पाएका छन् भने ५ हजार आसपासले व्यावसायिक लगानी र इन्नोभेसन अन्तर्गत भिसा पाएका छन्।

त्यस्तै, रोजगारदाता स्पोन्सरबाट ७६१ जना, सीपयुक्त आत्मनिर्भर क्याटेगोरीमा २ हजार ७६३ जना, स्टेट र टेरिटोरी नोमिनेसनबाट ३ हजार ३६७, ग्लोबल ट्यालेन्ट अन्तर्गत २६ जना, सहकर्मी मार्फत ६७५ जना र विविधमा ६९ जना नेपालीले उक्त वर्ष पीआर पाएका छन्।

५५.४ प्रतिशत पुरुष पीआर पाउँदा ४४.६ प्रतिशत नेपाली महिलाले पीआर पाएका छन्। पीआर पाउने विदेशीमध्ये नेपाली २ प्रतिशत रहेका छन् भने कुल अष्ट्रेलियाको जनसङ्ख्यामा पीआर पाउने नेपालीको हिस्सा ०.६ प्रतिशत रहेको छ।

कुन पेशाबाट कति ?

नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)का पूर्व अध्यक्ष प्रकाश पाण्डेका अनुसार पीआर पाउनेमध्ये सबैभन्दा बढी स्वास्थ्य क्षेत्रका रहेका छन्। त्यसमध्ये पनि नर्सले सबैभन्दा बढी, त्यसपछि डाक्टर, फार्मा लगायत रहेका छन्।

त्यसपछि अकाउन्ट पढेका, कुकरी पढेका विशेषगरी सेफ र कुक, बेकर, पेस्ट्रीकुक लगायत आइटी तथा इन्जिनियर पढेका दक्ष विद्यार्थीले पनि पीआर पाइरहेका छन्।

अष्ट्रेलियाको सरकारी तथ्याङ्क अनुसार सन् २०२२-२३ मा सबैभन्दा बढी स्थायी बसोबास अनुमति पाउने नेपालीमा २ हजार ५५८ जना नर्स रहेका छन् भने १ हजार २४६ एकाउन्टेन्ट छन्। इनरोल्ड र मदरक्राफ्ट नर्स ३६७, सेफ ३२२, कुक १६२, सफ्टवेयर र एप्लिकेसन्स प्रोग्रामरहरू १५३, वेलफेयर, रिक्रिएसन र कम्युनिटी आर्ट वर्कर ९९, सूचनाप्रविधि व्यवसायी र सिस्टम एनालिस्ट ८६, सिभिल इन्जिनियर ८० र कम्प्युटर नेटवर्कमा काम गर्ने ७७ जनाले पीआर पाएका छन्।

त्यस्तै, बसोबासको अस्थायी अनुमति प्राप्त गर्नेमा सेफ सबैभन्दा धेरै रहेका छन्। २६० जना सेफले अस्थायी बसोबास अनुमति पाउँदा १८७ जना कुक, ६२ जना बेकर र पेस्ट्रीकुक, ३८ जना क्याफे र रेस्टुरेन्ट म्यानेजर, २५ जना सफ्टवेयर र एप्लिकेसन प्रोग्रामर, २२ जना स्ट्रक्चरल स्टील र वेल्डिङ ट्रेड वर्कर, १९ जना एकाउन्टेन्ट, १४ जना कम्प्युटर नेटवर्क प्रोफेसनल, १२ जना आईसीटी व्यवसाय र सिस्टम एनालिस्ट र ११ जना जनरल प्राक्टिस्नर र रेसिडेन्ट मेडिकल अफिसर रहेका छन्।

नेपाल दशौं स्थानमा

अष्ट्रेलियाली गृह मन्त्रालयका अनुसार विदेशमा जन्मिएर अष्ट्रेलियाको पीआर पाउनेमध्ये नेपाल दशौं स्थानमा रहेको छ। २०१९ देखि २०२१ सम्म लगातार ११औं स्थानमा रहेको नेपाल २०२२ मा १०औं स्थानमा उक्लिएको हो।

अष्ट्रेलियाली गृह मन्त्रालयको तथ्यांक अनुसार सन् २०२३ मा पीआर पाउने नेपालीको संख्या सन् २०२१ को भन्दा दोब्बर बढी हो। २०२१ मा ६ हजार ६२८ जनाले पीआर पाएकोमा सन् २०२३ मा ह्वात्तै वृद्धि भएर १२ हजार ४१ नेपालीले पीआर पाएका हुन्।

सन् २०१४/१५ मा अष्ट्रेलियाको आप्रवासन कार्यक्रम अन्तर्गत स्थायी बसोबास अनुमति पाउने १० मुलुकमा नेपाल नवौं स्थानमा परेको थियो।

सन् २०१९ मा ५ हजार ४८ जना, २०२० मा ४ हजार ७१४ जना, २०२१ म ६ हजार ६२८ जनाले पीआर पाएकोमा सन् २०२३ मा ह्वात्तै वृद्धि भएर १२ हजार ४१ नेपालीले पीआर पाएका हुन्।

अष्ट्रेलियामा क्रमशः बेलायत, भारत, चीन, न्यूजिल्याण्ड, फिलिपिन्स, भियतनाम, दक्षिण अफ्रिका, मलेसिया, इटली र नेपालले धेरै पीआर पाएका छन्। सन् २०२२ मा भारतबाट सबैभन्दा बढी ४१ हजार १४५ जनाले स्थायी बसोबास अनुमति पाएका छन्।

नेपालपछि श्रीलंका ११औं स्थानमा रहेको छ भने यसपछि टप २० सम्ममा क्रमशः अमेरिका, हङकङ, दक्षिण कोरिया, जर्मनी, इराक, पाकिस्तान, इन्डोनेसिया, ग्रीस, थाइल्याण्ड, अफगानिस्तान रहेका छन्।

पीआर पाउन के गर्नुपर्छ ?

अष्ट्रेलियाली सरकारले आफ्नो देशमा आवश्यक जनशक्तिको पहिचान गरेर त्यस क्षेत्र अथवा पेशामा रहेका दक्ष जनशक्तिलाई पीआर दिने गरेको छ। जुनसुकै सीप भए पनि सामान्यतया ‘स्किल अकुपेसन लिस्ट’ (एसओएल) मा सूचीकृत भएकाले पीआरको लागि आवेदन दिन सक्छन्। एसओएलमा सूचीकृत हुनको लागि अष्ट्रेलियन सरकारको अनलाइन प्रणाली ‘स्किल सेलेक्ट’ मा गएर व्यक्तिगत विवरण (प्रोफाइल) बनाउनुपर्छ।

स्किल सेलेक्टमा आवेदकले पीआर पाउनको लागि आवश्यक ‘अंक’ पुर्‍याउँछु भनेर प्रमाणित गर्नुपर्ने हुन्छ। आवेदकले भरेको विवरण अनुसार ‘अंक’ पुगेको अवस्थामा अष्ट्रेलियन सरकारको पीआर दिने सिट संख्या भन्दा कम आवेदन भए पाउँछन्।

यदि सिट संख्या भन्दा बढी आवेदक भएको अवस्थामा सबैभन्दा धेरै ‘पोइन्ट’ पाउनेले इमिग्रेसनमा आउन पाउने सम्भावना बढी हुन्छ।

कसरी ह्वात्तै बढे पीआर पाउने नेपाली ?

नेपालका विद्यार्थीहरू अष्ट्रेलिया जानुअघि कस्ता विषय पढ्दा रोजगारी र पीआर पाउने सम्भावना बढी हुन्छ भन्ने अध्ययन गरेर पढ्ने गर्छन्।

रोजगारी र पीआर पाउने सम्भावना बढी भएका विषयहरू सुरुदेखि नै छनोट गरेर पढ्न जानेले नै बढी पीआर पाउने गरेको नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)का पूर्व अध्यक्ष प्रकाश पाण्डे बताउँछन्।

पछिल्लो समय अष्ट्रेलियाले स्वास्थ्य, कुकरी, आइटी लगायत क्षेत्रका लागि दक्ष जनशक्ति अलि बढी खोजिरहेको छ र पीआर पाउनेहरूमा नर्स, एकाउन्टेन्ट, सोसियल वर्कर, सेफ, आइटी लगायत छन्
गत वर्षको तुलनामा दोब्बर बढी नेपालीले पीआर पाएको बारेमा जानकारहरूका फरक–फरक तर्क छन्। ‘नेपाली विद्यार्थीहरू राम्रो शिक्षा र शिक्षापछिको रोजगारी तथा पीआर पाउन सकिने गरी त्यही अनुसारको विषय पढ्न जाने गरेका छन्’ पाण्डे भन्छन्, ‘अहिले तिनै योग्य विद्यार्थीहरूले पीआर पाइरहेको देखिन्छ।’

अष्ट्रेलियामा पीआर लिने नेपालीको संख्या बढ्नुमा एउटा मात्र कारण नरहेको बताउँछिन् केआईईसी ग्लोबलकी निर्देशक तथा रजिष्टर्ड माइग्रेसन एजेन्ट सविना शाक्य। पछिल्लो समय पढ्न मात्र नभएर उतै बस्ने सोच सहित अष्ट्रेलिया जानेको सङ्ख्या बढेकोले पीआर लिने नेपाली बढेको उनी तर्क गर्छिन्। शाक्यका अनुसार पछिल्लो केही वर्ष पार्टनर भिसा, फेमिली भिसा मार्फत अष्ट्रेलिया जाने नेपालीको सङ्ख्या बढेको छ।

पीआर पाएका पुरुष वा महिलाले विवाह गरेर पार्टनर भिसामा श्रीमान् वा श्रीमती अथवा आफ्ना आमाबुवा पनि लगिरहेको शाक्यको भनाइ छ। ‘अहिले त कुनै क्षेत्रको लागि योग्य जनशक्तिले नेपालबाटै अष्ट्रेलियन पीआरको लागि आवेदन दिन सक्ने भएकोले त्यसरी पीआर लिएर जानेहरूको संख्या पनि बढिरहेको छ’, शाक्य भन्छिन्।

कुनै कम्पनीले योग्य जनशक्तिलाई ‘इम्प्लोयर स्पोन्सर्ड’ रुपमा लैजान सक्ने व्यवस्था रहेको छ। त्यसरी जाँदा निश्चित समयपछि पीआरको लागि आवेदन दिन सक्ने व्यवस्था रहेको रजिष्टर्ड माइग्रेसन एजेन्ट शाक्य भन्छिन्।

अष्ट्रेलियालाई अहिले सबै क्षेत्रमा दक्ष जनशक्तिको खाँचो रहेकोले आफूलाई आवश्यक परेको क्षेत्रहरूमा आवेदन दिनेलाई मूल्यांकन गरेर पीआर दिइरहेको उनको भनाइ छ।

पछिल्लो समय स्वास्थ्य, कुकरी, आइटी लगायत क्षेत्रका लागि दक्ष जनशक्ति अलि बढी खोजिरहेको छ र पीआर पाउनेहरूमा नर्स, एकाउन्टेन्ट, सोसियल वर्कर, सेफ, आइटी लगायत रहेको शाक्य बताउँछिन्।

अष्ट्रेलियामा कार्यरत रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत गुप्ता बितेको ५-६ वर्षमा नेपालबाट अष्ट्रेलिया बस्ने उद्देश्य सहित नेपालीहरू आउने क्रम बढेकोले पीआर पाउने नेपालीको सङ्ख्या पनि बढेको बताउँछन्। ‘नेपालीहरू पीआर लिन्छु नै भनेर लागि पर्ने हुनाले पीआर कसरी हुन्छ र के कोर्स पढ्नु लाभदायक हुन्छ भनेर पहिलेदेखि नै तयारी गरिरहेका हुन्छन्’, उनी भन्छन्।

गुप्ताका अनुसार नेपालीहरू मिहिनेती र पीआर केन्द्रित भएकोले उनीहरू अष्ट्रेलिया आउनासाथ पीआर पाउने सही तरिका पछ्याउँदा धेरैले पीआर पाउन सफल भएका हुन्।

पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्र

अष्ट्रेलियाली सरकारले पीआर दिने क्षेत्रहरूको (पेशागत रूपमा) प्राथमिकता हरेक वर्ष परिवर्तन भइरहने भए पनि पछिल्लो पाँच वर्षमा नियमित रूपमा नर्सिङ पेशालाई प्राथमिकता दिंदै आइरहेको छ। ‘हरेक वर्ष आवश्यकताको आधारमा पीआर दिने प्राथमिकता फरक परिरहेको हुन्छ तर पछिल्लो पाँच वर्षमा पहिलो प्राथमिकता भने नर्स देखिन्छ भने अरू क्षेत्र बदलिइरहेका छन्’, शाक्य भन्छिन्।

माइग्रेसन एजेन्ट सनत गुप्ता बढीजसो नेपालीहरूले रजिस्टर्ड नर्स, इन्जिनियर, आईटी, अर्ली चाइल्डहुडबाट पढाइ सिध्याएर पीआर लिएका छन् भने रिजनल क्षेत्रमा गएर एकाउन्टिङ अध्ययन गरी पीआर लिन पनि सफल भएका छन्।

अष्ट्रेलियाले आईटी इन्जिनियरहरूलाई नेपालबाटै सीधै पीआर दिए पनि त्यो सङ्ख्या कति हो भन्ने थाहा नभएको गुप्ता बताउँछन्।

कोभिडपछि अष्ट्रेलियालाई दक्ष जनशक्तिको आवश्यकता बढेकोले पछिल्लो माइग्रेसन प्रोग्राम इयर (२०२२-२३) मा पीआर पाउनेको सङ्ख्या बढे पनि यो वर्ष त्यही सङ्ख्यामा नेपालीले पीआर पाउन नसक्ने उनी बताउँछन्।

गुप्तासँग सहमत छन् अर्का रजिस्टर्ड माइग्रेसन एजेन्ट सन्तोष कुँवर पनि। कुँवर भन्छन्, ‘नयाँ आप्रवासन नीति कार्यान्वयनमा आएसँगै अब पीआर पाउन मुस्किल हुनसक्छ।’

कुँवरका अनुसार कोभिडलगत्तै अष्ट्रेलियाले प्राथमिकतामा नर्सलाई राख्यो। नर्सहरूले पीटीईमा ७ अंक ल्याउनासाथ पीआर पाउने अवस्था देखियो। ‘अब स्टेट सरकारले पीआर कोटा स्वात्तै घटाएको छ यो सङ्ख्या गत वर्ष जून अघि तीन गुणा बढी थियो’, उनी भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *