काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको दाबीसहितको खबर सामाजिक सञ्जालमा फैलिएपछि प्रचण्डको सचिवालय बोल्न बाध्य भएको छ ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले यसबारे फैलिएको हल्ला कपोलकल्पित र झुट भएको बताए । माओवादी समाप्त भएर गएपनि ज्ञानेन्द्रसँग भेट हुन नसक्ने उनको भनाइ छ ।
‘यो माओवादीलाई कमजोर बनाउने हिसाबले नियोजित रूपमा प्रयोग गरेको देखिन्छ’, रातोपाटीसँग कुरा गर्दै मल्लले भने, ‘ज्ञानेन्द्रसँग भेट गर्ने भनेको माओवादी राजतन्त्र स्थापना गर्नका लागि तयार हुनुपर्छ । आफ्नै नेतृत्वमा भएको जनयुद्धले संघीय गणतन्त्र ल्याएको हो । ज्ञानेन्द्रसँग भेट गर्नु भनेको माओवादीले गणतन्त्रलाई समाप्त गरी राजतन्त्र स्थापना गर्न तयार हुनु हो । यस्ता कपोलकल्पित हल्लाको पछि नलाग्न म सबैमा आग्रह गर्छु ।’
यस्तै पत्रकार किशोर नेपालले पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डको भेट भएको विषय सामाजिक सञ्जालमा राखेका थिए ।