१३ कात्तिक, काठमाडौं । तिहार र छठ पर्वको बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरु खुला रहने भएको छ ।
आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।
बिदामा कार्यालय खुला हुँदा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने उनले बताए ।
आयोगको ललितपुर पुल्चोकस्थित केन्द्रीय कार्यालय, सातवटा प्रदेश कार्यालय र खोटाङ र नेपालगञ्जमा रहेका प्रदेशका शाखा कार्यालय तिहार र छठ बिदाका बेलामा खुल्नेछन् ।