Friday, December 27

सरकारी अस्पतालमा विद्युत् महसुल छुटका लागि पहल

काठमाडौँ । सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि पहल भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत् महसुल छुटको व्यवस्था लागू गराउन बुधवार स्वास्थ्य मन्त्रीस्तरीय निर्णय भएको हो ।

यसले सरकारी अस्पतालहरूमा ठुलो रकम बचत हुने र त्यसलाई स्वास्थ्य सुविधा व्यवस्थापनमा खर्च गर्नसमेत स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताएका छन् ।

समयमै महसुल भुक्तानी नहुँदा एकातिर लाइन काटिनेसम्मको समस्या हुने र जरिवानासमेत उच्च हुने तर २० दिनभित्रै भुक्तानी हुँदा ठुलो रकम बचत हुने भए पछि यस व्यवस्था मिलाउन निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्रालयले यससम्बन्धी सबै स्वास्थ्य संस्थामा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए । यस व्यवस्था पूर्ण लागु भएमा सरकारी अस्पतालको सेवा विस्तारमा थप श्रोत व्यवस्था हुने देखिन्छ ।

प्राधिकरणले गरेको छुटको व्यवस्था अधिकांश सरकारी अस्पतालले लिन नसकिरहेका बेला मन्त्री पौडेलले यसका लागि सक्रियता देखाए पछि संघीय राजधानी काठमाडौँको कान्ति बाल अस्पतालले २० प्रतिशत महसुल छुट पाएको हो । यस अस्पतालले वार्षिक ५० लाख रुपैयाँसम्म यस व्यवस्थाअनुसार बचत गर्न सक्ने मन्त्रालयको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *