Wednesday, December 25

राप्रपाका पदाधिकारी नै खटिए उपचुनावको तयारीमा

२३ कात्तिक, काठमाडौं। स्थानीय तहको उपचुनावलाई प्राथमिकतामा राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी गतिविधि अगाडि बढाएको छ ।

अरु पार्टीलाई उछिन्दै राप्रपाले उम्मेदवार चयन गर्ने, चुनावी रणनीति र प्रचारको कार्यक्रम तयार पार्ने गरिरहेको छ । आगामी १६ मंसिरमा हुने ४४ पदको उपचुनाव मध्ये धेरैले चासो दिएको कीर्तिपुर नगरपालिकामा राप्रपाले उम्मेदवार टुंग्याइसकेको छ ।

तिहार अघि नै ध्रुव महर्जनलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय राप्रपाले सार्वजनिक गरेको छ । ‘अरु ठाउँमा पनि धमाधम उम्मेद्वार टुंगिने क्रम चलिरहेको छ । हामी धेरै ढिलो गर्दैनौ’, प्रवक्ता मोहनकुमार श्रेष्ठले भने ।

राप्रपाले उपचुनावको तयारीलाई व्यवस्थित गर्न शीर्ष तहकै नेताहरुलाई परिचालित गर्ने निर्णय गरिसकेको छ । सकेसम्म सम्बन्धित भूगोलकै नेताहरु पर्नेगरी चुनावी कमाण्डर राप्रपाले तोकेको छ ।

चुनावी कमाण्डर तोकेर राप्रपाले पदाधिकारी तहकै नेतालाई वडाध्यक्ष जिताएर आउने जिम्मेवारी दिएको छ । तोकिएको जिम्मेवारी अनुसार मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदको उपचुनावमा महामन्त्री प्रल्हाद साह खटिएका छन् । साहले ग्रामथान गाउँपालिका अध्यक्ष सहित सुनसरीको लालीगुराँस नगरपालिका–८ का वडाध्यक्ष जिताउने जिम्मेवारी पनि लिएका छन् ।

पार्टी प्रवक्ता भक्ति सिटौलालाई झापाकै कन्काइ नगरपालिका–६ को वडाध्यक्ष जिताउने जिम्मेवारी दिइएको छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदको उपचुनावमा सहकोषाध्यक्ष शोभित उप्रेती खटिएका छन् ।

काठमाडौं कीर्तिपुर नगरपालिकाको मेयर जिताउने चुनावी कमाण्डर पार्टी प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही बनेका छन् । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद जिताउने जिम्मेवारी सहित महामन्त्री कुन्ती शाही खटिएकी छन् ।

जाजरकोट नलगाड नगरपालिकाको उपमेयरमा हुने उपचुनावमा सहायक महामन्त्री शौरेन्द्रबहादुर शाह खटिएका छन् ।

उपचुनाव हुने अर्को महत्वपूर्ण पालिका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका हो । यो पालिकामा उपाध्यक्ष पदका निम्ति हुने उपचुनावको तयारीमा महामन्त्री धवल शमशेर जबरा खटिएका छन् ।

पार्टी महामन्त्री राजेन्द्र गुरुङलाई वडाध्यक्ष जिताउने जिम्मेवारी छ । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष जिताउने कमाण्डर महामन्त्री गुरुङ तोकिएका हुन् । उपचुनाव हुने अरु वडाहरुमा पनि पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु परिचालित भएका छन् ।

‘पदाधिकारीहरु नै खटिनुको अर्थ हामीले यो उपचुनावलाई प्राथमिकताका साथ हेरेको भन्ने हो’, प्रवक्ता श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *