Wednesday, December 25

अमेरिकीको घरखर्च घटाउने ट्रम्पको घोषणा उनैलाई पर्दैछ महँगो

खाद्यान्नदेखि कारबीमासम्मको मूल्य अत्यधिक बढेका कारण रिसाएका अमेरिकी मतदाताले सत्तामा रहेको डेमोक्रयाटिक पार्टीलाई हराएर डोनाल्ड ट्रम्पलाई ह्वाइटहाउसमा फर्काइदिए ।

आफू सत्तामा रहुञ्जेल मूल्यवृद्धिको समस्या नहरेको तर जो बाइडेनको पालामा त्यसले जनतालाई मारेको भन्दै उनले त्यसमाथि आफूले हमला गर्ने उनले बाचा गरेका थिए । तर, उनी सचेत भएनन् भने उनी आफैंमाथि मूल्यवृद्धिको समस्या पर्नेछ ।

मूल्यवृद्धिलाई छुमन्तर पार्नेसँगै ट्रम्पले चुनावका क्रममा गैरकानुनी आप्रवासीलाई एकैपटक डिपोर्ट गर्ने तथा आयातमा अतिउच्च कर लगाउने बाचा गरेका छन् । साँच्चै यी काम ट्रम्पले गरे भने त्यसले अत्यधिक मूल्यवृद्धि गराउनेछन् ।

ट्रम्पले दशौं खर्ब अमेरिकी डलर राष्ट्रिय ऋण बढाउने योजना बनाएपछि बोन्ड बजार अहिलेसम्मकै उच्च बिन्दूमा पुगिसकेको छ ।

बोन्डको प्रतिफल तीव्र रुपमा बढेको छ, जसले घर तथा कारलगायत किन्नका लागि उपभोक्ताले लिने ऋणको ब्याज महँगो पर्न जानेछ । ‘यो चुनावले दिएको पाठलाई रिपब्लिकनहरुले बेवास्ता गर्नुहुँदैन, मूल्यवृद्धिलाई मतदाताले मन पराउँदैनन्, जसलाई उनीहरुले बिर्सने पनि छैनन्,’ अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अमेरिकी अर्थशास्त्री र्‍यान स्वीटलाई उद्घृत गर्दै सीएनएनले लेखेको छ ।

ट्रम्पले चुनावी क्याम्पेनमा गरेका बाचाहरुमध्ये कुन चाहिँ यथार्थमा बदलिन्छन् भनेर थाहा पाउन अझै केही समय कुर्नुपर्ने छ । अहिलेका लागि भने मूल्यवृद्धिको चेतावनीका बीच पनि वालस्ट्रिट (अमेरिकी सेयरबजार) भने बेफिक्र देखिएको छ ।

३० खर्ब अमेरिकी डलरको कुल आयातमा भन्सार वृद्धि गर्ने वा कागजात नभएका दशौंलाख आप्रवासीहरुलाई डिपोर्ट गर्ने बाचा यथार्थमा ट्रम्पले कार्यान्वयन गर्दैनन् भन्ने विश्वासका साथ अमेरिकी सेयर लगानीकर्ताहरुले पैसा हालिरहेको देखिन्छ ।

किनभने, राष्ट्रपतीय उम्मेदवारहरुले भोटिङ सकिएपछि वा काम शुरु गरेपछि चुनावमा गरेका बाचाहरु कार्यान्वयन गर्ने क्रममा चलक भएको इतिहास छ ।

मंगलवार भएको चुनावमा मतादाताहरुले अर्थतन्त्रको अवस्थाबारे निराश रहेको स्पष्ट सन्देश दिए । सीएनएनले गरेको एक्जिट पोलमा दुई तिहाइ मतादातले अमेरिकी अर्थतन्त्र राम्रो नरहेको वा खराब अवस्थामा रहेको बताएका थिए ।

अमेरिकामा अहिले इतिहासकै कम बेरोजगारी छ । तर, ३२ प्रतिशत मतदाताले मात्रै अमेरिकी अर्थतन्त्र राम्रो वा धेरै राम्रो रहेको बताए । र, मतदाताको यही बुझाइ नै यस्तो चुनावी नतिजा ल्याउनमा महत्वपूर्ण भूमिका खेलेको प्रमाणित भयो ।

जसले अर्थतन्त्र राम्रो नरहेको वा खराब रहेको बताएका थिए, तीमध्ये ६९ प्रतिशतले ट्रम्पलाई भोट हाले । ४० प्रतिशत ल्याटिनो भोटरले अर्थतन्त्रले नै अहिलेको नम्बर एक मुद्दा हो भन्ने संकेत गरेका थिए, जसको निर्णायक भोट ट्रम्पले प्राप्त गरे ।

यो नतिजाले घरखर्च बढेकोप्रति अमेरिकी मतदाता कति आक्रोसित रहेछन् भन्ने स्पष्ट पार्छ ।

अहिले मुद्रास्फीतिको दर तीव्र रुपमा घटेको छ तर सन् २०२२ को जुनमा यो चार दशककै उच्च बिन्दु ९.१ प्रतिशत पुगेको थियो, जुनबेला अमेरिकामा पेट्रोलको भाउ प्रतिग्यालन ५ डलरभन्दा धेरै थियो ।

तर, वस्तुविशेषको मूल्य हेर्दा भाउ घटेको छैन । ‘अर्थशास्त्रीहरु मुद्रास्फीतिको दरमा हुने परिवर्तनलाई हेर्छन् तर उपभोक्ता भने वस्तु वा सेवाको भाउ घट्यो कि बढ्योसँग मतलब राख्छन्,’ स्वीट भन्छन्, ‘अमेरिकी उपभोक्ताहरु धेरै कुरा छिटो बिर्सन्छन्, तर यो मूल्यका सन्दर्भमा लागू हुँदैन । धेरैले पेट्रोल, दूध वा रोटीको मूल्य चार वर्षअघि कति थियो र अहिले कति छ भनेर पेनी–पेनीमा हिसाब गरेर भन्न सक्छन् ।’

र धेरैजसो सन्दर्भमा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गर्दाभन्दा अहिले अमेरिकनहरूले निकै बढी खर्च गर्नु परिरहेको छ ।

मुडिज एनालिटिक्सका अनुसार, हरेक महिना एउटा औसत अमेरिकी घरपरिवारले उही वस्तु वा सेवा किन्दा सन् २०२१ जनवरीको भन्दा ११२० अमेरिकी डलर बढी तिर्नुपरिरहेको छ ।

अमेरिकीहरुको कमाइ पनि त्यसभन्दा धेरैले बढेको छैन, औसत अमेरिकी परिवारको मासिक कमाइ यस अवधिमा जम्मा ११ सय ९२ डलरले मात्रै बढेको छ । अर्थात्, जति कमाइ बढेको छ, खर्च पनि त्यति नै थपिएको छ । यसको अर्थ उनीहरु टिकिरहेका मात्रै छन्, अघि बढ्न सकेका छैनन् ।

यसमा ख्याल राख्नुपर्ने विषय के हो भने यो औसतमा गरिएको हिसाब हो । धेरै अमेरिकीको कमाइ मूल्यवृद्धिको तुलनामा कम नै छ । सीएनएनले उल्लेख गरेअनुसार पेन्सिलभेनियाका धेरै काउन्टीहरुमा ट्रम्पले चुनावी नतिजा उल्ट्याए, जहाँ तलबको वृद्धिभन्दा मूल्यवृद्धि ज्यादा थियो ।

चुनावी अभियानका क्रममा ट्रम्पले मुद्रास्फीतिको दरलाई कम गरेर मात्रै होइन, दशौं लाख आप्रवासीलाई डिपोर्ट गरेर तथा पेट्रोलियमको उत्पादन बढाएर मूल्यलाई तल झार्ने बाचा गरे ।

उनले अगस्तमा मूल्यलाई तीव्र रुपमा घटाउने बताएका थिए । तर, व्यापक मूल्य गिरावट असम्भवजस्तै मात्रै छैन, यसले यस्तो जोखिमपूर्ण चक्र सिर्जना गर्न सक्छ, जसबाट बाहिर निस्कन गाह्रो हुन्छ । किनकि त्यसले फेरि पनि मूल्यवृद्धिलाई नै बढावा दिन्छ ।

भन्सार वृद्धि र आप्रवासी डिपोर्टेसनले मूल्य बट्ने होइन, बढ्न सक्छ

ट्रम्पका एजेन्डाहरु कार्यान्वयन भए भने तिनले उल्टै मूल्य बढाउनेछन् । आयातमा कर बढाउनुलाई ट्रम्पले सबै समस्याको जादुमयी समाधानका रुपमा प्रस्तुत गर्ने गरेका छन्, उनले यसलाई अहिलेसम्म आविस्कार भएको सबैभन्दा उत्तम चिज भनेर व्याख्या गर्छन् । उनले आफ्ना मित्र तथा शत्रु देशबाट हुने आयातमा अकल्पनीय रुपमा धेरै कर लगाउने धम्की दिएका छन् ।

पिटर्सन इन्स्टिच्युट अफ इन्टरनेसनल इकोनोमिक्सको हालैको एउटा कार्यपत्रका अनुसार आयातमा अत्यधिक कर लगाउने, दशौं लाख आप्रवासीलाई डिपोर्ट गर्ने तथा केन्द्रीय बैंकलाई प्रभावित पार्नसक्ने ट्रम्पको वाचाले आर्थिक वृद्धि कम हुने, मूल्यवृद्धि बढ्ने तथा रोजगारी घट्नेछ । त्यसो गरियो भने सन् २०२६ सम्म मूल्यवृद्धिदर ६ प्रतिशतमा उक्लनेछ र सन् २०२८ सम्म उपभोक्ता मूल्य २० प्रतिशतले बढ्ने अनुसन्धानकर्ताले पत्ता लगाएका छन् ।

तर, आफ्नो अघिल्लो कार्यकालमा चीनबाट हुने आयातमा ठूलो मात्रामा कर कर बढाए पनि मूल्यवृद्धि धेरै नभएकाले आफ्नो व्यापार एजेन्डाले मुद्रास्फीति नगराउनेमा ट्रम्पको जोड छ । तर, त्यसको प्रभावबारे धेरैवटा अध्ययन भएका छन्, चीनबाट हुने आयातमा ट्रम्पले बढाएको करको सम्पूर्ण भार अमेरिकी जनताले बेहोर्नुपरेको देखाएका छन् ।

ट्रम्पको भन्सार प्रस्ताव कार्यान्वयन भयो भे त्यसले एउटा टिपिकल अमेरिकी परिवारको वार्षिक खर्च २६ सय अमेरिकी डलरले बढ्ने पिटर्सन इन्स्टिच्युटले गरेको अर्को छुट्टै अध्ययनले देखाएको छ ।

लत्ताकपडा, खेलौनाहरु, फर्निचर, हाउसहोल्ड अप्लायन्सेस, जुत्ताचप्पल र यात्रासामाग्रीहरुमा मात्रै कर बढाउँदा अमेरिकीहरुको खर्च वार्षिक कम्तीमा ४६ अर्ब डलरले वृद्धि हुने अमेरिकाको राष्टिय खुद्रा महासंघले जनाएको छ ।

मूल्य तथा रोजगारी दुवैतर्फ सबैभन्दा खराब अवस्था सृजना हुँदै गएको वेस्टवुड क्यापिकटका डनियल अल्पर्टले बताएका छन् । हामीकहाँ आन्तरिक रुपमा वस्तु र केही सेवाको मूल्य उच्च हुँदै छ, अर्कातिर रोजगारी र तलब वृद्धि पनि हुने छैन, उनले बताएका छन् ।

समग्रमा ट्रम्पका एजेन्डाहरुलाई समर्थन गर्ने परम्परावादी अर्थशास्त्री स्टेफेन मूरले पनि आफू ट्रम्पले प्रस्ताव गरेजस्तो भन्सार प्रस्तावको ठूलो फ्यान भएको हालै सीएनएनलाई बताएका छन् ।

ट्रम्पले ट्यारिफलाई व्यापार वार्ताको औजारका रुपमा प्रयोग गर्ने हो भने मलाई आपत्ति छैन, तर म आयातित वस्तुको भन्सार नाटकीय रुपमा बढेको देख्न चाहन्न । भन्सार भनेको पनि कर नै हो । र, मेरो चिन्ता के हो भने यसलाई धेरै अघि बढाइयो भने अरुले पनि हामीले जस्ताको त्यस्तै व्यवहार गर्ने छन्, उनले केही समयअघि फोन अन्तर्वार्तामा भनेका थिए ।

र, भन्सार वृद्धि आगामी ट्रम्प युगका लागि सबैभन्दा ठूलो आर्थिक प्रश्न हुनेछ । उनले पुनः मूल्यवृद्धि बढ्न नदिनका लागि आफ्ना आर्थिक प्रस्तावहरुलाई नरम बनाउने छन् ? वा पुनः उच्च मूल्यवृद्धिको युग फिर्ता ल्याउने गरी आयातमा तेब्बर भन्सार लगाउनेछन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *