Friday, December 27

हेटौंडा-१२ को उपनिर्वाचनमा कांग्रेस, एमाले र माओवादीले टुंग्याए उम्मेदवार

२४ कात्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा उपनिर्वाचन हुँदैछ ।

२०७९ वैशाखमा भएको स्थानीय तहका् निर्वाचनबाट वडा अध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

आगामी १६ मंसिरमा मकवानपुरको यही वडामा मात्र निर्वाचन हुँदैछ । वडाध्यक्षको निर्वाचनमा मुख्यतः तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने गत निर्वाचनको मतपरिणामले देखाउँछ । तीनवटै दलले उम्मेद्वार टुंग्याएका छन् ।

कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए । उनी गत निर्वाचनमा पनि वडाध्यक्षको उम्मेदवार रहेर दोस्रो भएका थिए ।

कांग्रेसको वडा समितिबाट पाँच जनाको नाम सिफारिस भएर जिल्लामा गएको थियो । वडाबाट अर्जुन तिवारी, शरण घिसिङ, कुमार पोखरेल, गीता न्यौपाने, सुदर्शन लामाको जिल्लामा सिफारिस भएको थियो । पाँच जनाबीच सहमतिमै उम्मेदवारको टुंगो लगाइएको चौलागाईंले बताए ।

एमालेले युवा संघ मकवानपुरका अध्यक्षसमेत रहेका राजेश नगरकोटीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटीले चुनावी अभियानमा जुटिसकेको बताए । गत निर्वाचनमा नगरकोटीले तेस्रो स्थान हासिल गरेका थिए ।

माओवादीले रविन प्रधानलाई वडाअध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय गरेको पार्टी प्रदेश उपाध्यक्ष तथा प्रदेश सांसद प्रेमबहादुर पुलामीले जानकारी दिए । उनी पार्टीको वडा अध्यक्षसमेत हुन । राप्रपा र नेकपा एसले पनि वडा अध्यक्षको उम्मेदवार चयनमा लागेका छन् ।

यो निर्वाचनले मकवानपुरमा दलहरुको पछिल्लो अवस्थालाई पनि चित्रण गर्ने भएकाले विशेष रुपमा हेरिएको छ । माओवादीलाई गुमेको वडा अध्यक्ष फिर्ता गर्ने चुनौती छ । एमाले र कांग्रेसलाई नयाँ वडामा विजयको झण्डा गाड्ने चुनौती रहेको छ ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा ललितबहादुर घलानले एक हजार ३७१ मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका तिवारीले एक हजार ३४० मत र एमालेक नगरकोटीले एक हजार ३२५ मत पाएका थिए । गतनिर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन् ।

विजय भएका माओवादीका घलान र दोस्रो भएका कांग्रेसका तिवारी बीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएका तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *