Wednesday, December 25

स्पेनमा बाढीपछि आक्रोशित जनता प्रशासनविरुद्ध सडकमा उत्रिए

२५ कात्तिक, काठमाडौं । स्पेनमा आएको भीषण बाढीपछि अहिले त्यहाँका जनताले प्रशासनविरुद्ध सडकमा उत्रिएका छन् । स्पेनको भ्यालेन्सियामा शनिबार हजारौं स्थानीयहरु सडकमा उत्रिएर क्षेत्रीय प्रमुखविरुद्ध नाराबाजी गर्दै राजीनामाको मागसहित प्रदर्शन गरेका थिए ।

बीबीसीका अनुसार प्रदर्शनकारीहरूले स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको आरोप लगाएका छन्। प्रदर्शनका क्रममा आक्रोशित स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।

भ्यालेन्सियाका मेयर मारिया जोस क्याटालाले प्रदर्शनबाट भएको क्षति देखाउँदै यस्तो बर्बरताले समाधानको बाटो नदेखाउने प्रतिक्रिया दिएकी छन् भने भ्यालेन्सिया सिटी काउन्सिलले पनि प्रदर्शनको क्रममा भएको तोडफोडको निन्दा गरेको छ ।

अक्टोबरमा भ्यालेन्सिया र छिमेकी प्रान्तहरूमा भीषण वर्षाका कारण आएको बाढीमा २०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ८० जनाभन्दा बढी अझै बेपत्ता छन् । यसअघि बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमनमा गएका स्पेनका राजा फिलिप छैटौंलाई भ्यालेन्सिया क्षेत्रका आक्रोशित स्थानीयले दुर्व्यवहारसमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *