Wednesday, December 25

हेटौंडा-१२ मा रास्वपा, राप्रपा र नेकपा एसले पनि टुंग्याए उम्मेदवार

२६ कात्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडानम्बर १२ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा र नेकपा (एकीकृत समाजवादी)ले पनि वडा अध्यक्षको उम्मेदवारको टुंगो लगाएका छन् ।

३० वैशाख २०७९ मा भएको स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्षमा विजयी नेकपा माोवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख हुन गएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको छ ।

मकवानपुरका १० वटा स्थानीय तहका १०२ वटा वडामध्ये हेटौंडाको १२ नम्बर वडामा मात्रै उपनिर्वाचन हुन लागेको हो ।

रास्वपाको वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशावीर बललाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी नगर सभापति ध्रुवबहादुर विष्टले जानकारी दिए ।

राप्रपाले प्रेम लामा भ्लोनलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । भ्लोनलाई राप्रपा जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत उम्मेदवार चयन गरेको पार्टी जिल्ला सहकोषाध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।

यसैगरी, नेकपा (एस)बाट बलराम बललाई उम्मेदवार बनाइएको पार्टी जिल्ला अध्यक्ष विष्णु दहालले जानकारी दिए । रास्वपा, राप्रपा र नेकपा एसले पनि उम्मेदवार टुंगो लगाएकाले निर्वाचनमा हालसम्म ६ वटा दलको उपनिर्वाचनमा प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंग्याएका थिए ।

कांग्रेसबाट अर्जुन तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी र माओवादी केन्द्रबाट रविन प्रधान वडाध्यक्षका उम्मेदवार रहने भएका हुन् । तिवारी र नगरकोटी गत निर्वाचनमा घलानको प्रतिद्वन्द्वी पनि थिए । तिवारीले दोस्रो र नगरकोटीले तेस्रो स्थान पाएका थिए ।

वडाध्यक्षको निर्वाचनमा मुख्यतः तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने गत निर्वाचनको मतपरिणामले देखाउँछ ।

उपनिर्वाचनबाट माओवादीलाई गुमेको वडाध्यक्ष फिर्ता गर्ने र कांग्रेस, एमालेलाई नयाँ वडामा जित निकाल्ने चुनौती रहेको छ ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा घलानले १३७१ मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका तिवारीले १३४० मत र एमालेका नगरकोटीले १३२५ मत पाएका थिए ।

गत निर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन् । रास्वपा उपनिर्वाचनबाट पहिलोपटक प्रतिस्पर्धी बनेपछि नतिजा कसको पक्षमा जानेछ भने अनुमान गर्न सकस छ ।

हेटौंडा उपमहानगरपालिकामा १९ वटा वडा छन् । वैशाख ०७९ मा भएको स्थानीय तह निर्वाचनबाट मेयरसहित एउटा वडामा नेकपा (एस), कांग्रेसको उपमेयरसहित ८ वटा वडाअध्यक्ष र एमालेले ९ वटामा वडाअध्यक्ष र माओवादी केन्द्रले १२ नम्बर वडामामात्रै जिते निकालेको थियो ।

२०७४ को निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित १३ वटा वडामा जितेको थियो । कांग्रेस, माओवादी र नेकपा (एस)ले गठबन्धन गरेर लडेको ०७९ को निर्वाचनमा एमालेले जितेको २, ७, ८ र ९ नम्बर वडामा कांग्रेस र एसले कब्जा गरे । गत निर्वाचनमा मेयर, उपमेयर गुमाए पनि एमालेको हेटौंडा नगरकार्यपालिकामा भने ५६ सदस्यसहित बहुमत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *