२६ कात्तिक, काठमाडौं । नवलपुरका गैंडाहरु अन्यत्र स्थानान्तरण गर्ने काम रोक्न नवलपुरका सरोकारवालाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले आइतबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नपलपुरका पर्यावरण तथा पर्यटनसँग सम्बन्धित ६ वटा संस्थाले संयुक्त रुपमा पत्र बुझाएका छन् । उनीहरुले पत्रमा गैँडा स्थानान्तरणले नवलपुरको जैविक विविधता, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योगमा असर पर्ने भएकाले त्यसलाई रोक्न माग गरेका छन् ।
ध्यानाकर्षण पत्रमा स्थानान्तरणको सट्टा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि वैज्ञानिक विधि अवलम्बन गरि गैँडाको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।
नवलपुर होटल व्यवसायी संघ, नवलपुर पर्यटन समिति, नेचर गाईड एसोसिएसन नवलपुर, ऐतिहासिक कावासोती ताल संरक्षण समिति, हरियाली संस्था र कावासोती होटल व्यवसायी संघको नगर समितिले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।