Friday, December 27

लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता

काठमाडौँ । सरकारले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यकामा सक्रियता बढाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना स्थापना गरेको छ । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तर्गत विभिन्न कार्यक्रम सुरु भएको छ । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य लागि एकीकृत सेवा पहुँच परियोजना लागू भएका पालिकाहरु धनकुटा नगरपालिका, उर्लाबारी नगरपालिका र मेचीनगर नगरपालिकामा परियोजना कार्यान्वयन युनिट स्थापना गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जानकारी दिए ।

त्यसैगरी मन्त्रालयले राष्ट्रिय लैङ्गिक परीक्षण ‘म्यानुअल’को मस्यौदा तर्जुमाको कार्य अगाडि बढाएको छ । मन्त्री सुडीले पछिल्लो चार महिनामा लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) नियमावली, २०६७ बमोजिम औषधि उपचार, कानुनी परामर्श, मनोसामाजिक परामर्शका लागि तत्काल उद्धार तथा राहतबाट ११ जना र अदालतको फैसलाबाट ६३ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको जानकारी दिएका छन् ।

त्यसैगरी मन्त्रालयले हिंसापीडित महिला तथा किशोरीलाई सुरक्षित रुपमा पुनः स्थापना गर्न राष्ट्रियस्तरको ‘मङ्गला–सहाना दीर्घकालीन पुनः स्थापना केन्द्र’ सञ्चालन तथा व्यवस्थापन गरेको छ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१ निर्माणको अन्तिम चरणमा रहेको मन्त्री सुडीले बताए ।

“महिला समुत्थान परियोजना कार्यान्वयनका लागि सङ्घीय र लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेश सरकारबीच साझेदारी सम्झौता सम्पन्न भएको छ, यस परियोजनामाफर्त लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका विभिन्न १५ प्रहरी ईकाइभित्र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र तीन स्थानमा प्रादेशिक दीर्घकालीन पुनः स्थापना केन्द्र निर्माण भइरहेका छन्”, मन्त्री सुडीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *