Friday, December 27

बुटवलको सिद्धार्थ केवलकारले हकप्रद शेयर निस्कासन गर्ने, बोलायो विशेष साधारण सभा

बुटवल । आईपिओ निस्कासनको तयारी गरेको सिद्धार्थ केवलकार लिमिटेडले हकप्रद शेयर निस्कासनको पनि तयारी गरेको छ । त्यसको लागि कम्पनीले यहि मंसिर १४ गते विशेष साधारण सभा आह्वान गरेको छ ।

गएको कात्तिक २८ मा बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निस्कासन, प्रवन्धपत्रमा केही नियमावलीका केही वुदामा संशोधन लगायतका विषयमा निर्णय लिनको लागि विशेष साधारण सभा आह्वान गरेको हो । सिद्धार्थ केवलकार लिमिटेडले कम्पनीको शेयरधनीहरुलाई १ शेयर बराबर १.१२५ को अनुपातमा हकप्रद शेयर निश्कासनको तयारी गरेको छ ।

हकप्रद शेयर निश्कासन पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २७ करोड ५० लाख पुग्ने छ । यो कम्पनीलाई १५० करोडको बनाईँदै छ । बाँकी २२ करोड ५० लाख रुपैंयाको लागि प्रचलित कानुन अनुसार सार्वजनिक शेयर (आईपिओ) निस्कासन गरिने कम्पनीका प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारीले बताए । बुटवल उपमहानगरपालिका वडा नं. १ बाट पाल्पाको तिनाउँ गाउँपालिकाको नुवाकोटलाई जोड्ने यो केवलकारको वटम स्टेशन र टप स्टेशनमा पूर्वाधार निर्माण भईरहेको छ ।

नुवाकोटको ऐतिहासिकतालाई उजागर गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनाउने गरि काम गरिएको कम्पनी सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर राजेन्द्रसिंह गुरुङले जानकारी गराए। निर्माणकै क्रममा रहेको यो केवलकार गएको दशैंबाट अनौपचारिक सञ्चालन गरिएको छ । जसमा हालसम्म ७५ हजार भन्दा बढी पर्यटकले केवलकारको यात्रागरी नुवाकोट अवलोकन गरेका छन् ।

यो केवलकारको दुरी २ किलोमिटरको रहेको छ । जसमा २५ वटा गोण्डुला रहेका छन् । एउटा गोण्डुलामा ८ जना यात्रु क्षमता रहेको छ । बटम स्टेशनबाट टप स्टेशनमा पुग्न ९ मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले मंसिर १ गतेदेखि लागु हुनेगरी केवलकारको एकतर्फी र दुईतर्फी भाडा निर्धारण गरेको छ । जसमा एकजनाको दुई तर्फी भाडा शुल्क ७ सय रुपैंया र एकतर्फी ४ सय रुपैंया निर्धारण गरिएको छ । २०८१ चैत मसान्तसम्म विशेष छुट सहित ३५० रुपैंयामा दुई तर्फी यात्रा गर्न सकिने छ ।

त्यसैगरी नेपाल बाहेक सार्क राष्ट्रबाट आएका पर्यटकका लागि १ हजार रुपैंया र अन्य देशबाट आएका पर्यटकका लागि १५ डलर लाग्ने छ । त्यसमा पनि सार्क राष्ट्रकालाई यो अवधिको लागि एक जना पर्यटकको दुईतर्फी भाडा ५५० रुपैंया र सार्क बाहेकका राष्ट्रबाट आएका पर्यटकका लागि ७ डलर कायम गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *