Wednesday, December 25

रास्वपा नेतालाई प्रश्न- उपनिर्वाचनमा उम्मेदवार नपाएको हो ?

३ मंसिर, काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार राजनीतिक दल र स्वतन्त्र व्यक्तिहरूले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

दुई जिल्ला समन्वय समिति प्रमुख, ८ नगरपालिका/गाउँपालिका प्रमुख–उपप्रमुख र ३४ वडाध्यक्षसहित ४४ पदका लागि हुन लागेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने २६ पदमा मात्रै उम्मेदवारी दिएको छ । बाँकी १८ पदका लागि मनोनयन दर्ता गरेको छैन ।

यसबारेमा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भने रास्वपाको मापदण्डका कारण र देशैभर संगठन बलियो भइनसकेकाले सबै ठाउँमा उम्मेदवारी दर्ता नभएको बताएका छन् ।

उपनिर्वाचनमा पार्टीका उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकारसमेत पाएका बुर्लाकोटीलाई हामीले किन सबै ठाउँमा उम्मेदवारी नदिएको भनेर सोधेका छौं । उनै बुर्लाकोटीसँग गरिएको कुराकानीको सम्पादित अंश :

कीर्तिपुरमा किन उम्मेदवारी नै दिनुभएन ?

– एक जनाको मात्रै आवेदन परेको थियो । छलफल गर्दा गर्दै आवेदक आफैं नै कन्फ्युज हुनुभयो । हामीले मापदण्डअनुसारको छलफल गर्दागर्दै भएकोले गर्दा अर्को विकल्पमा हेर्‍यौं । हामीले राम्रो क्यानडिडेट बनाउन सकिएन ।

अरुलाई समर्थन गर्ने सम्भावना के छ ?

– यसबारे हामीले छलफल गरिराखेका छौं । त्यसको सम्भावनाचाहिं रहन्छ । समर्थन रहन्छ ।

स्वतन्त्र कि दलगत उम्मेदवारलाई समर्थन हुन्छ ?

– त्यसमा बढी सम्भावनाचाहिं स्वतन्त्र उम्मेदवारप्रति केन्द्रित रहन्छ ।

१८ स्थानमा रास्वपाले उम्मेदवारी दिएको छैन । उम्मेदवार नै नपाएको हो भन्छन् नि !

– हाम्रो उम्मेदवारको जुन मापदण्ड सोचिराखेका थियौं त्यसमा नै कति मान्छे हच्किने भयो । इमानदार छवि भएको, पृष्ठभूमिबारे चेक हुने, सामाजिक काममा हिंडेको भन्ने कुराले गर्दा उम्मेदवार हुन्छु भन्ने भए पनि रास्वपाले टिकट दिंदैन भन्ने भयो । अर्को कुराचाहिं हामीले संगठन बाक्लो नभएको ठाउँमा धेरै बल पनि नगरेको हो । हामीले त संगठन बनाउँदै छौं नि !

मंसिर १६ को उपनिर्वाचन छ भन्ने त पहिल्यै थाहा थिएन र ?

– त्यो हुँदा हुँदै पनि नभ्याउने हुन्छ नि त । चैतमा पुल बनाउने बजेट पर्‍यो असार साउनमा भेलबाढी आउँछ भनेर कहाँ पुल बनाइसकिन्छ र ?

पछिल्लो राजनीति घटनाक्रम, सभापति पक्राउ र आन्दोलनमा केन्द्रित हुँदा चुनावमा ध्यान नपुगेको हो कि ?

– पाँच/दश प्रतिशत प्रभाव पर्‍यो । त्यतातिर हाम्रो इन्गेजमेन्ट भयो । यो स्वभाविक हो । अहिले भ्रष्ट कल्चर छ । यस्तो कल्चर हुँदाहुँदै पनि नेता हुनसक्ने र त्यसलाई ढाकछोप गर्नलाई पनि नेता हुने त्यो एउटा भ्यालुलाई हामी चिरेर स्वच्छ मान्छे आउनुपर्छ र काम गर्न पाउनुपर्छ भन्ने मूल्यमान्यता स्थापित गर्न चाहन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *