Thursday, December 26

दमननाथको देहवसानले सबैलाई दु:खी तुल्याएको छ : खरेल

काठमाडौँ । पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले नेपालको कानुनी क्षेत्रको एक सशक्त व्यक्तित्व दमननाथ ढुङ्गानाको निधनले सबैलाई दुःखी तुल्याएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा खरेलले ढुङ्गानालाई नेपालको संसद्ले यस व्यवस्थाको एक असल अनुयायी र नेता गुमाएको बताएका छन् ।

‘सभामुखको आसनमा बसेर तटस्थ भूमिका निर्वाह गर्नुपर्छ भनी एउटा मानक बनाउने स्वर्गीय कृष्णप्रसाद भट्टराई (२०१५ साल), स्वर्गीय सुवासचन्द्र नेम्वाङ (२०६३ पछि पटक पटक) र तपाई (दमननाथ ढुङ्गाना २०४८) लाई सदैव सम्झनेछ र अरूलाई प्रेरणा दिनेछ’, खरेलले भनेका छन् ।

साथै उनले ढुङ्गानाको निडर एवं हक्की स्वभाव, आफूलाई लागेका विचार निर्धक्क व्यक्त गर्न सक्ने क्षमता, आफूले बोलिरहँदा सबैलाई आफूतिर आकर्षित गर्न सक्ने खुबी र आफ्ना भिन्न धारणालाई सशक्त ढङ्गले प्रस्तुत गर्ने नवीन शैली अनुकरणीय गुणहरू रहेको स्मरण गरेका छन् ।

‘मेरो बिचारमा यिनै गुणले तपाईँलाई ‘दमननाथ’ बनाएको हो र बनाई रहनेछ’ खरेलले भनेका छन् । नेपाल बार एसोसिएसनका पूर्व महासचिव, पूर्व सभामुख एवं मानव अधिकारको क्षेत्रका अग्रणी व्यक्तित्व ढुङ्गानाको आइतबार निधन भएको हो । उनको सोमबार अन्त्येष्टि गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *