Friday, December 27

प्रतिजैविक प्रतिरोधका कारण वार्षिक ७ लाख जनाको मृत्यु

काठमाडौं । प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष विश्वभर करिब ७ लाख मानिसको मृत्यु हुने गरेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालजस्ता विकासोन्मुख देशमा प्रतिजैविक प्रतिरोधको प्रभाव अझै गम्भीर हुने जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सुधारका उपाय नअपनाएमा यो संख्या सन् २०५० सम्म एक करोड पुग्न सक्ने र विश्वव्यापी आर्थिक क्षति १०० ट्रिलियन अमेरिकी डलर बराबर हुनसक्ने अनुमान गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

संक्रमणको उपचारमा प्रयोग हुने औषधि, विशेषगरी एन्टिबायोटिक्स, प्रभावहीन हुँदै जानु नै प्रतिजैविक प्रतिरोध हो । यस समस्याले रोगको उपचार कठिन बनाउँदै लगेको छ । जसले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणमा गम्भीर असर पुर्‍याइरहेको छ ।

एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया विश्व स्वास्थ्य, खाद्य सुरक्षा र विकासको निम्ति ठूलो चुनौतीको रूपमा देखा परेका छन् । विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियालाई भविष्यमा मानिसमाथि आइपर्ने १० प्रमुख स्वास्थ्य समस्यामध्ये एक मानेको छ । विज्ञले एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको विश्वव्यापी संकटलाई ‘लुकेको महामारी’को संज्ञा दिएका छन् ।

एन्टिबायोटिकको दुरुपयोग र अनावश्यक प्रयोगका कारण रोग गराउने जीवाणुहरूमा प्रतिरोध क्षमता विकसित हुँदै गएको मन्त्रालयले जनाएको छ । यसले गर्दा त्यस्ता जीवाणुहरूले गराउने रोगहरूको उपचार झन् कठिन र प्रभावहीन बन्दै गएको छ ।

नयाँ प्रकारका एन्टिबायोटिक बन्ने प्रक्रिया सुस्त वा बन्द हुने अनि ब्याक्टेरियाहरूले चाहिं उपलब्ध सबैजसो एन्टिबायोटिक विरुद्ध प्रतिरोध क्षमता विकास गर्दै जाने क्रमले अहिले नै केही वर्षअघिसम्म सजिलै निर्मूल हुने संक्रमण निर्मूल गर्न असम्भव भएको छ । केही वर्षमै यो समस्याले उग्र रूप लिंदैछ । त्यसो भएको अवस्थामा अति सामान्य मानिएका संक्रमणले पनि मानिसको ज्यान लिनेछन् ।

यो जटिल समस्याको समाधानका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य सुरक्षा, र वातावरण क्षेत्रको सामूहिक पहल गर्नुपर्ने मन्त्रालयको आग्रह छ । यसका लागि ‘एक स्वास्थ्य’ अवधारणालाई प्रतिजैविक औषधिको उचित प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता रहेको मन्त्रालयले जनाएको छ ।

डाक्टरको प्रेस्क्रिप्सन विना फार्मेसीबाट सीधै एन्टिबायोटिक किन्न नमिल्ने र चिकित्सकले एन्टिबायोटिकको अनावश्यक प्रेस्क्रिप्सन नगर्ने व्यवस्था गनुपर्ने विज्ञ बताउँछन् । विपन्न देशहरूमा प्रयोगशालाको क्षमता वृद्धि गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूलाई पनि एन्टिबायोटिकको प्रयोग सम्बन्धमा नियमित शिक्षा दिनुपर्ने उनीहरुको सुझाव छ ।

बिरामी परेपछि डाक्टरको सल्लाहपछि मात्र औषधि खानुपर्छ, कुन औषधि कसरी खाने, कति दिनसम्म खाने सबै कुराको ख्याल राख्नुपर्छ । योग्य व्यक्तिलाई मात्र फार्मेसी सञ्चालनका लागि अनुमति दिनुपर्छ ।

प्रतिजैविक प्रतिरोधबारे सचेतना फैलाउन र रोकथामका उपायहरू प्रोत्साहित गर्न हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह मनाइन्छ । यस वर्ष ‘प्रतिजैविक प्रतिरोध : बुझौं, बुझाऔं, आजैदेखि रोकथाममा जुटौं’ भन्ने नाराका साथ यो सप्ताह मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *