Tuesday, December 24

दाल–गेडागुडीको अग्रिम आयकर घट्यो, मूल्य सस्तिने

१० मंसिर, काठमाडौं । सरकारले दाल तथा गेडागुडी आयात गर्दा भन्सार बिन्दुमा तिर्नुपर्ने अग्रिम आयकरको दर घटाएको छ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा गरेका थिए ।

मन्त्रिपरिषद् निर्णयमार्फत त्यसलाई घटाएर सरकारले त्यसलाई साढे २ प्रतिशतमा झारेको हो ।

दाल तथा गेडागुडी आयातमा विगतदेखि नै १० प्रतिशत भन्सार दरबन्दी लाग्दै आएको छ । त्यसमा १० प्रतिशत अग्रिम आयकर थपिँदा उपभोक्ताको भान्सामा प्रयोग हुने दालको मूल्य बढेको थियो ।

यसरी तिरेको आयकर अर्को वर्ष समायोजन गर्न नमिल्ने भएकाले यो एक हिसाबले भन्सारकै अर्को रूप भएको एक चार्टर्ड एकाउन्टेन्टले बताए ।

‘१० प्रतिशत अग्रिम आयकर भन्सारमा तिर्नु भनेको आयातकर्ताले ४० प्रतिशत नाफा गर्छ भनेर पहिल्यै आयकर लिनु जस्तै हो,’ उनले भने ।

१० प्रतिशत अग्रिम आयकर लिने व्यवस्थाको दाल उद्योगीले विरोध गर्दै आएका थिए । यो व्यवस्थाले ३५ अर्ब लगानी भएको यो उद्योग संकटमा पर्ने जोखिम रहेको उनीहरूले बताउने गरेका थिए । सरकारले उद्योगीको माग सम्बोधन गर्दै अग्रिम आयकर घटाउने निर्णय गरेको हो ।

सरकारले घटाएको अग्रिम आयकर आइतबारबाट कार्यान्वयनमा गइसकेको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *