१० मंसिर, काठमाडौं । आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ । स्थानीय तह उपनिर्वाचन परिणाम घोषणा नभएसम्मका लागि केन्द्र स्थापना गरिएको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
निर्वाचन आयोगले गरेका निर्णय कार्यान्वयनको अवस्था, उपनिर्वाचन आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षहरूबारे नियमित रूपमा जानकारी लिई तत्कालै समस्या समाधान गर्ने उद्देश्यले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ४ अनुसार केन्द्र स्थापना गरिएको आयोगले जनाएको छ।
केन्द्रको संयोजन निर्वाचन आयोगका सचिव रविलाल पन्थले गर्नेछन् भने सदस्यहरूमा आयोगको प्रशासन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी सुवास खड्का लगायत छन् ।