१३ मंसिर, काठमाडौं । नेपालको वातावरणीय समस्या, चुनौती र समाधानका विषयवस्तुमा केन्द्रित कार्यक्रम ‘ग्रिड संवाद’ हिमालय टेलिभिजनबाट प्रसारण सुरु भएको छ ।
कार्यक्रम मंगलबार साँझ ८ बजे प्रसारण भएको हो । साथै, हिमालय टेलिभिजनको युट्युब च्यानलका साथै फेसबुक मार्फत पनि लाइभ प्रसारण भएको छ ।
कार्यक्रमको पहिलो शृङ्खला नेपालमा वायु प्रदूषणको अवस्था, यसले ल्याएका जनस्वास्थ्य समस्या, विकास र अर्थतन्त्रमा पारेको प्रभाव विषयमा केन्द्रित थियो ।
कार्यक्रममा वातावरणविद् भूषण तुलाधर, जनस्वास्थ्यविद् तथा नागरिक अभियन्ता डा. अनुप सुवेदी र छाती रोग विशेषज्ञ तथा वातावरण विषयमा पैरबी गर्ने डा. रक्षा पाण्डे अतिथि थिए ।
कार्यक्रममा सहभागीले वायु प्रदूषणले निम्त्याएका समस्या उठाउँदै यसको न्यूनीकरण एवं समाधानका लागि नागरिक स्तरबाट गर्नुपर्ने पहलदेखि नीति निर्माता र सरकार एवं सरकारका निकायले गर्नुपर्ने कामबारे धारणा राखेका थिए ।
‘नेपालको हरित, उत्थानशील र समावेशी विकासतर्फको मार्ग बुझ्न’ थिम रहेको कार्यक्रम कम्तीमा ७ शृङ्खला प्रसारण हुनेछ । कार्यक्रम प्रस्तोता पूर्व मिस नेपाल सुगारिका केसी हुन् ।
नेपालले हरित, उत्थानशील र समावेशी विकास मार्गतर्फ रूपान्तरण सुरुवात गर्दैछ । कोभिड–१९ महामारीबाट सिर्जित बेरोजगारी, असमानता, जलवायु परिवर्तन र वातावरण क्षयीकरण तथा विश्वव्यापी आर्थिक मन्दी एकअर्कासँग अन्तरसम्बन्धित चुनौती हुन् ।
यी चुनौतीलाई राष्ट्रले दिगो, एकीकृत तथा व्यवस्थित सम्बोधन गर्न आवश्यक छ । यी संकटको संवेदनशीलता ध्यानमा राख्दै पर्याप्त लगानी र आवश्यक नीति कार्यान्वयन, अन्तर्राष्ट्रिय वित्तीय सहयोग र सहायता सहित गरिब तथा संकटापन्न अवस्थामा परेका मानिस लक्षित गरी, नेपाली समाजमा थप समावेशी अवसर र हरित रोजगारी सिर्जना गर्न आवश्यक छ ।
हरित, उत्थानशील र समावेशी विकासले नेपालमा देखिएका र भविष्यमा आइपर्ने संकटको सही प्रतिक्रियात्मक कार्य पहिचान गरी विकास पथलाई हरित, उत्थानशील र समावेशी बनाउन आवश्यक अवसर सिर्जनाका लागि पहलकदमी गर्ने छ ।
यो उद्देश्यलाई सार्थक एवं परिणाममुखी बनाउन साप्ताहिक रूपमा ‘ग्रिड संवाद’ कार्यक्रमबाट सघाउ पुग्ने अपेक्षा छ ।
कार्यक्रममा जल–कृषि–वनको आपसी सम्बन्धबाट उचित लाभ प्राप्त गर्न भूपरिधि व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन, पूर्वतयारी र सामाजिक सुरक्षा, दिगो तथा समावेशी भूमि प्रशासन, दिगो र उत्थानशील सडक र यातायात, नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यताको प्रचुर मात्रामा उपयोग, हरित, उत्थानशील र समावेशी सहर, उत्थानशील खानेपानी तथा सरसफाइ, वायु गुणस्तर सुधार, प्लास्टिक सहित ठोस फोहोरमैलाको दिगो व्यवस्थापन लगायत विषयवस्तुमा विज्ञ, सरोकारवाला एवं सम्बद्ध निकायका प्रतिनिधिसँग बहस, पैरबी एवं विश्लेषण गरी निचोडमा पुग्ने प्रयास गरिन्छ ।
यस्तै वातावरणीय शासन, लैंगिक तथा सामाजिक समावेशीकरण, निजी पूँजी परिचालन, डिजिटल विकासलाई गति लगायत विषयवस्तु समेत कार्यक्रममा समावेश गरिने छ ।