Wednesday, December 25

नर्सिङ संघको चुनावमा एमाले-माओवादी र कांग्रेस-समाजवादी गठबन्धन

१३ मंसिर, काठमाडौं । नेपाल नर्सिङ संघको चुनावमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका छन् ।

रोचक त के छ भने एमाले–माओवादी तथा कांग्रेस–एकीकृत समाजवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र कांग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गंगाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । सँगै एमालेबाट बसन्ती थापाले बागी उम्मेदवारी दिएकी छिन् ।

मंसिर २८ गते नर्सिङ संघको निर्वाचन हुँदैछ ।

महासचिवमा एमाले–माओवादी गठबन्धनबाट एमालेनिकट डा. देवका कुमारी आचार्य र कांग्रेस–समाजवादी गठबन्धनबाट कांग्रेसनिकट मीनाकुमारी कार्कीको उम्मेदवारी परेको छ । त्यस्तै, महासचिवमै जानकी धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा एमाले–माओवादी गठबन्धनबाट एमाले निकटका रमेश सुब्बा उम्मेदवार छन् । कांग्रेस–समाजवादी गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा कांग्रेसनिकट कल्पना श्रेष्ठ जोशीको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा एमाले माओवादी गठबन्धनबाट माओवादीनिकट बबिता घिमिरे र कांग्रेस –समाजवादी गठबन्धनबाट कांग्रेसनिकट मनिषा कोइरालाको उम्मेदवारी परेको छ ।

यो निर्वाचन नर्सिङ पेशाको भविष्य तय गर्ने एक महत्त्वपूर्ण क्षण हो । यहीँबाट व्यक्तिगत महत्त्वकांक्षा मात्रै नभइ स्वास्थ्य सेवाको गुणस्तर र दिशा पनि निर्धारण हुँदैछ ।

तर यसपटक भने गठबन्धन बनेका कारण कडा प्रतिस्पर्धा हुने आंकलन छ ।

‘अहिले चुनावमा विरासत जोगाउने र भत्काउने अन्तिम कसरत पर्ने देखिन्छ,’ पूर्व कार्यसमितिको एक पदाधिकारीले भन्छिन्, ‘प्रगतिशील समूहका लागि पुरानो साख बचाउने चुनौती देखिन्छ भने लोकतान्त्रिक समूह यसभन्दा अगाडीका किल्ला भत्काउने ध्यानमा जुटेको छ ।’

१९ औं केन्द्रिय कार्यसमितमा नेपाल कम्युनिष्ट पार्टी समर्थक नर्सको प्यानल विजयी भएको थियो । त्यतिबेला प्रगतिशील समूहकी मनकुमारी राई १२ सय मतको फराकिलो अन्तरसहित निर्वाचित भएकी थिइन् ।

राईले ३ हजार २७६ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस समर्थित प्रजातान्त्रिक समूहकी मुना राना थापाले २ हजार ८५ मत प्राप्त गरेकी थिइन् ।

अध्यक्षसहित सबै पदमा नेकपा उम्मेदवार विजयी भएका थिए । स्थापनाकालदेखि नै प्रगतिशील समूहले जित हासिल गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *