Tuesday, January 7

हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार कारागार चलान, ३ जनालाई छाड्न आदेश

१३ मंसिर, काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनाका मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश भएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको बिहीबारको इजलासले ताजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको ललितपुर अदालतका प्रवक्ता राम सजिवन महतोले जानकारी दिए ।

त्यसैगरी अर्का प्रतिवादी भीमादेवीलाई २ लाख र सुस्मा विकलाई जनही क्रमश: २ लाख र १ लाख धरौटीमा छाड्न आदेश भएको छ । अर्का प्रतिवादी प्रहरी सहायक हवल्दार महेन्द्र हमालले भने साधारण तारेखमा छाड्ने आदेश भएको उनले बताए ।

उनीहरूसहित ६ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । जसमा प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्सपेक्टर बिनु शाही र सुनसरीका दर्शन पोखरेल भने फरार छन् । उनीहरु फरार भएकाले उनीहरुको हकमा कुनै आदेश आएको छैन । उनीहरूविरुद्ध आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।

यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको थियो । सुस्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए । सुस्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताजको समूहले सुस्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ ।

त्यसका लागि उनीहरूले आफू अनकूल ठाउँको खोजी गरेका थिए । त्यसपछि उनीहरू प्रहरी प्रभाग भैंसेपाटी पुगेको प्रहरीको निष्कर्ष छ ।

हनी ट्रयापमा फसाउने योजना अनुसार सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएर ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै ती व्यवसायीविरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए । त्यसपछि रकम उठाउने खेल सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीकोमा आउनुपर्नेमा सुरुमै प्रहरीमा दर्ता गराइएको थियो । अर्कोतर्फ शान्ति सुरक्षाको निवेदन भनिए पनि आरोपित भनिएका व्यापारीसँग शान्ति सुरक्षा नभई बलात्कारको विषयमा छलफल गराएर रकम असुलिएको खुलेको थियो ।

घटनाबारे छानबिन गर्न परिसर ललितपुरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिले हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक समेत गायब बनाइएको निष्कर्ष निकालेको थियो ।

ती व्यवसायीले नगद २० लाख रूपैयाँ प्रतिवादी भीमादेवीको खातामा जम्मा गरेका थिए भने १० लाखको चेक दिएका थियो । सबै काम इन्सपेक्टर बिनुको रोहबरमा भएको अनुसन्धानबाट खुलेपछि उनलाई पनि प्रतिवादी बनाइएको थियो ।

सहायक हवलदार हमालमाथि युवतीको प्रयोग गरेर (हनी ट्रयाप) व्यवसायीबाट असुल गरिएको रकम दुई पटक आफैंले बैंकमा जम्मा गर्न लगाएको आरोप छ । हिरासतमै रहेकी सुष्मा विक हनी ट्रयापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र ताज स्लाम हनी ट्रयापको मुख्य योजनाकार रहेको सीआईबीको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *