Friday, December 27

चितवनमा रास्वपा कार्यकर्तासँगको मुठभेडमा आठ प्रहरी घाइते

१९ मंसिर, चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले बताए ।

घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

‘प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुंगा हान्दा प्रहरी घाइते भएका हुन्,’ प्रहरी उपरीक्षक मिश्रले भने । जिल्ला प्रहरी कार्यालय अगाडी सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले जानकारी दिए ।

प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिए ।

घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उनले बताए । रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ ।

यहाँको साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उनलाई बयानका लागि मंगलबार काठमाडौँबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *