२३ मंसिर, काठमाडौं । विद्रोहीहरुले सिरियाको राजधानी कब्जा गरेपछि राष्ट्रपति बसर अल असादले देश छाडेका छन् । इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले राजधानीसमेत कब्जा गरेपछि राष्ट्रपति असाद देश छाड्न बाध्य भएका हुन् ।
सन् २०११ मा राष्ट्रपति बसर अल असादविरुद्ध शान्तिपूर्ण विरोध सुरु भएको थियो । लोकतन्त्र समर्थकहरुको यही विरोध पछि गृहयुद्धमा परिणत भयो । यो गृहयुद्धमा सिरिया मात्रै होइन, क्षेत्रीय र विश्वका अन्य शक्ति राष्ट्रहरु पनि जोडिए । त्यसबेलादेखि हालसम्म युद्धमा पाँच लाखभन्दा बढी मारिइसकेका छन् भने एक करोड २० लाख जना विस्थापित भएका छन् ।
आखिर को हुन् एचटीएस विद्रोही समूहका कमाण्डर ? जसले सिरियाका सरकारी सेनालाई झुकाए र राष्ट्रपति नै देश छोड्न बाध्य भए ?
विद्रोही समूह एचटीएसका प्रमुख अबु मोहम्मद अल जुलानी हुन् । अमेरिकाले उनको टाउकोको मूल्य एक करोड डलर तोकेको थियो । उनीमाथि मानवअधिकार उल्लंघनको आरोप छ । तर उनी विश्व सामु आफूलाई उदारवादी नेताको रुपमा चिनाउन खोज्छन् ।
जन्म र उमेर विवादित
अबु मोहम्मद अल जुलानीको वास्तविक नाम र उमेर भने विवादित छ । अमेरिकी प्रसारक पीबीएसले फेब्रुअरी २०२१ मा अल जुलानीको अन्तर्वार्ता प्रसारण गरेको थियो । त्यस समय उनले आफ्नो नाम ‘अहमद अल शारा’ बताएका थिए । उनको जन्म साउदी अरबको राजधानी रियाद शहरमा भएको थियो । रियादमा उनका बुवाले काम गर्दथे । तर उनको पालन पोषण भने सिरियाको राजधानी दमास्कसमा भएको थियो । त्यसैले उनी आफूलाई सिरियाकै नागरिक भएको बताउँछन् ।
यद्यपि अर्को एक रिपोर्टमा भने उनको जन्म पूर्वी सिरियाको दैर एज–जोर भन्ने स्थानमा भएको बताइन्छ । संयुक्त राष्ट्रसंघ र युरोपेली संघको रिपोर्ट अनुसार उनको जन्म सन् १९७५ देखि १९७९ को बीचमा भएको थियो । इन्टरपोलले भने उनको जन्म सन् १९७९ उल्लेख गरेको छ । तर अस सफिरको रिपोर्टमा भने उनको जन्म १९८१ उल्लेख छ ।
मिडिया रिपोर्ट अनुसार विद्रोही समूहमा लाग्नुभन्दा अगाडि उनले चिकित्सा शिक्षा पढेका थिए ।
कसरी बने विद्रोहीको नेता ?
सन् २००३ मा अमेरिका र गठबन्धन सेनाले इराकमा आक्रमण गरेपछि अल जुलानी त्यहाँ रहेको अलकायदा विद्रोही समूहसँग जोडिएका थिए । अमेरिका नेतृत्वको गठबन्धन सेनाले इराकका राष्ट्रपति सद्दाम हुसेन र उनको बाथ पार्टीलाई सत्ताबाट हटाएको थियो । तर विभिन्न विद्रोही समूहहरुले त्यसको प्रतिरोध गरेका थिए ।
सन् २०१० मा इराकममा अमेरिकी सेनाले अल जुलानीलाई पक्राउ गरेको थियो । उनलाई क्याम्प बुका भनिने कुवेत नजिकको जेलमा राखिएको थियो । सोही जेलमा उनको चिनजान अरु विद्रोही नेताहरुसँग भयो, जसले इस्लामिक स्टेट (आईएस) समूह गठन गरेका थिए । त्यहीँबाट उनको सम्पर्क आईएसका नेता अबु बक्र अल बगदादीसँग समेत भएको बताइन्छ ।
जेलमुक्त भएपछि अल जुलानीले मिडियामा भनेका छन्– जब सन् २०११ मा सिरियाका राष्ट्रपति बसर अल असादविरुद्ध सशस्त्र संघर्ष सुरु भयो तब अल बगदादीले अल जुलानीलाई त्यहाँ पठाउने गृहकार्य सुरु गरे । अन्ततः अल जुलानीलाई हतियारधारी समूह नुसरा फ्रन्ट अर्थात् जबहत अल–नुसराको कमाण्डर बनाइएयो । यसको गोप्य सम्बन्ध इस्लामिक स्टेटसँग थियो । जुलानीको नेतृत्वको युद्धले धेरै ठाउँमा सफलता पनि हासिल गर्यो ।
सन् २०१३ मा अल जुलानीले नुसरा फ्रन्टको सम्बन्ध आईएससँग तोडेर अलकायदासँग जोडे । यद्यपि सन् २०१६ को एक रेकर्डेड सन्देशमा उनले अलकायदासँग पनि सम्बन्ध तोडेको घोषणा गरेका थिए ।
अल जुलानीका अनुसार सन् २०१७ मा उनी नेतृत्वको अल नुसरासँग सिरियाका अन्य विद्रोही समूहको एकीकरण भएको थियो । त्यसपछि ‘हयात तहरीर अल शाम’ समूह गठन भयो । त्यसको नेतृत्वमा अल जुलानी नै रहीरहे ।
सिरियाका राष्ट्रपति बसर अल असाद
अहिले सिरियाका प्रमुख शहरसँगै राजधानी दमास्कससमेत कब्जा गरेर राष्ट्रपति बसर अल असादलाई देश छाड्न बाध्य पार्ने यही हयात तहरीर अल शाम समूह हो ।
अल जुलानी कस्ता नेता हुन् ?
अल जुलानीको नेतृत्वको एचटीएस, उत्तरपश्चिम सिरियाको इदलिब र आसपासका क्षेत्रमा सक्रिय विद्रोही समूह थियो । यो समूहले इदलिब प्रान्तमा अलग्गै सरकार चलाउने गर्दछ । स्वास्थ्य, शिक्षा, आन्तरिक सुरक्षा कायम गर्न स्थानीय सरकारको जसरी काम गर्दछ ।
सन् २०२० मा एचटीएसले इदलिबमा अलकायदाका सैन्य क्याम्पमा आक्रमण गर्दै हतियार कब्जा गरेको थियो र केही नेताहरुलाई बन्दी बनाएको थियो । साथै इदलिबमा इस्लामिक स्टेटको सक्रियतालाई पनि रोकेको थियो ।
सन् २०२१ मा अल जुलानीले अमेरिकी प्रसारक पीबीएसलाई भनेअनुसार उनले अलकायदाको जस्तो रणनीति अनुसरण गरेका छैनन् । सिरियाका राष्ट्रपति बसर अल असादलाई सत्ताबाट हटाउने उनको मुख्य उद्देश्य थियो । यही उद्देश्य अमेरिका र पश्चिमी देशको पनि थियो । उनले भनेका थिए– हामी युरोप र अमेरिकी सुरक्षाका लागि खतरा होइनौं ।
एचटीएसले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा इस्लामी कानुन लागू गरेको छ । यो कानुन अन्य समूहको तुलनामा खुकुलो रहेको बीबीसीले जनाएको छ । एचटीएस सार्वजनिक रुपमा इसाई र गैरमुस्लिम समुदायसँग उदार देखिन्छ । त्यसैले अन्य विद्रोही समूहले यसको आलोचना पनि गर्दछन् ।
यद्यपि मानवअधिकारवादी संगठनहरुले एचटीएसलाई मानव अधिकार विरोधी क्रियाकलाप गरेको आरोप लगाउने गर्दछन् । अल जुलानीले भने त्यसलाई खण्डन गर्दै आएका छन् ।
जुलानी नेतृत्वको एचटिएसलाई पश्चिमा, मध्यपूर्वका सरकार र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले आतंकवादी समूहको वर्गमा राखेका छन् । किनभने अल जुलानीको अतित अलकायदा समूहसँग जोडिएको छ । उनीबारे सूचना दिनेलाई अमेरिका सरकारले एक करोड डलर पुरस्कार राखेको छ ।